चार लेन सडकको अपरिहार्यता

मुग्लिङ पोखरा जोड्ने चार लेनको सडक निर्माणको आधार अझैसम्म तयार नहुँदा विकास पछि धकेलिएको छ । तनहुँबाट पुग नपुग ४० मिनेटको दूरी अहिले सडकको दुरावस्था र चापका कारण डेढ घण्टामा पुगिने अवस्था छ । साँघुरो सडकका कारण भैरहने दुर्घटना पनि अझै रोकिन सकेका छैनन् । यस्तो अवस्थामा चार लेनको सडक तयार हुने हो भने समग्र तनहुँले यसबाट धेरै लाभ लिन सक्छ । अहिले नेपालमै काठमाडौं झरेका अधिकांश पर्यटक दोश्रो गन्तव्यका रुपमा पोखरा पुग्ने गरेका छन् । सडकको स्तरोन्नतीको काम चाँडो हुने हो भने ठूलो हिस्सालाई गृहजिल्ला भित्र्याउन सकिन्छ । दूरी कम हुनासाथ पर्यटकहरु तनहुँका गन्तव्यमा छोटो समयमै सहजताका साथ आउन सक्दछन् । अर्को ढुवानी लागतसमेत कम हुने अवस्था छ । पोखराबाट सामान ल्याउँदा तथा पठाउँदा लाग्ने ढुवानी लागत घट्ने कारण व्यापार तथा व्यवसाय जगतले लाभ लिन सक्दछ । प्रादेशिक राजधानी पोखरासँगको पहुँच सहज हुनासाथ जिल्लाले धेरै हिसाबमा फाइदा लिन सक्दछ । यसैगरी अन्तर्राष्ट्रय विमानस्थलसमेत पोखरामा निर्माणको चरणमा रहेकाले विमानस्थलका लागिसमेत फराकिलो सडक पूर्वाधार अति आवश्यक हुन्छ । यसो हुन सकेमा सिधै पोखरा झर्ने पर्यटकलाईसमेत तनहुँ भित्र्याउन सहज हुन्छ र जिल्लाले आर्थिक हिसाबले फाइदा गर्न सक्ने धेरै सम्भावना छ । यसका लागि सडक विस्तारपूर्वका आधार तय हुनु जरुरी छ । यस क्षेत्रमा सडक विभागले कामको गतिलाई बढाउनु जरुरी छ भने सँगै प्रभावित क्षेत्रका नागरिकले जायज क्षतिपूर्ति पाउने वातावरण बनेकाले सहज निकास दिनु जरुरी छ । यसो हुन सकेमा व्यासभूमिको भविष्य थप उज्यालो हुने देखिन्छ ।