वैकल्पिक शक्तिको खोजी

एउटै कामका लागि विनसित्तिको गलफत्ती नेपाली राजनीतिको विशेषता बन्न पुगेको छ । हुने कुराका लागि पनि बाह्र बजाउने संस्कृति मौलाउँदो छ । समय छँदासम्म अनेक नाममा अडान राख्ने अनि अन्तिम समयमा आएर दौडादौड गर्ने नेपाली राजनीतिक संस्कृतिले समग्र प्रजातान्त्रिक प्रक्रियालाई नै असफलतातिर धकेलिरहेको भान भैरहेको छ । देशले एक थान संविधानका लागि भनेर कुरेको पनि आधा दशक भैसक्यो । अझै त्यो एक थान संविधान कहिले आउने हो पत्तो छैन । सकेसम्म सहमति गर्नु जुनसुकै व्यवस्थामा पनि राम्रै हो । अझ देशकै भविष्य दिने संविधान बनाउन सहमति हुनु छलफल हुनुलाई नराम्रो किमार्थ मान्न सकिन्न । तर जुनसुकै कुराको पनि एउटा हद त हुन्छ नि । जनतालाई अनेक पटक अनेक बहानामा ढाँट्दा ढाँट्दा राजनीतिक दलहरुले विश्वसनियता भन्ने चिज गुमाइसकेका छन् । जुन एक असल राजनीतिक  नेतृत्वका लागि आवश्यक चीज 
हो । नेपालले एक थान संविधानका लागि आधा दशकको यात्रा पार गरिसक्दा छिमेकी भारतमा नयाँ सक्तिको उदय भएको छ । बीजेपीको मोदी लहर अनि कांग्रेसको गढ राजनीतिलाई पन्छाउँदै राजनीतिक इमान्दारिता र भाषण भन्दा कामलाई महत्व दिने शक्ति उदय भएको छ । नरेन्द्र मोदीले विकासको नारा दिएर सत्तारोहण गरेर काम गर्दैछन् । यद्यपि उनको भनाइ अनुसारको परिवर्तन  नआएकोप्रति असन्तुष्ट राजधानीको जनसमूहले उनलाई चुनौती दिंदै केही महिनाअघि जन्मिएको वैकल्पिक शक्तिलाई पूर्ण विश्वास गरी बहुमत दिलाएको छ । राजनीतिमा परिवर्तन भैरहन्छ । यस्तोमा नयाँ आशा र सम्भावनाका झिल्को दिन शक्तिहरु उकालो लाग्ने सम्भावना रहन्छ । नेपाली राजनीतिमा अहिले हालीमुहाली गर्ने शक्तिहरु यसैगरी जनतालाइ छारो हाल्दै व्यक्तिगत मनोकांक्षामा देशलाई रिंगाउँदै विकासहीन अनि अस्थिर पथमा धकेल्छन भने तिनको विकल्प पनि जनताले खोज्नेछन् ।