विपद्मा सघाउन सामाजिक सञ्जाल

पछिल्लो केही समययता सामाजिक सञ्जालको प्रयोग देशमा बढिरहेको छ । इन्टरनेटको सहज पहुँचको स्तर बढेसँगै सामाजिक सञ्जालमा मानिसको समय धेरै बित्ने गरेका गुनासा पनि सुनिन्छन् । तर सहि उपयोग गर्ने हो भने सामाजिक सञ्जालले कसैको जीवनमै परिवर्तन ल्याइदिन सक्दछ । यसको उदाहरण आँबुखैरेनीका एक वृद्ध दम्पत्ति भएका छन् । सामाजिक सञ्जालकै एक अंग युट्युबमा प्रसारित भिडियोका आधारमा देश तथा विदेशका सुभेच्छुकले उनीहरुको बसोबासका लागि घर र जीवनयापनका लागि आर्थिक सहयोग गरे । यो निकै परोपकारी कार्य हो । सामाजिक सञ्जालले मानिसको समय बर्बाद गरेको द्वन्द्व निम्त्याएकोजस्ता आरोप यदाकदा सुनिन्छ । तर सहि तरिकाले उपयोग गर्दा सामाजिक सञ्जाल उपयोगी बन्नसक्छ भन्ने गतिलो उदाहरण यो हो । मुलधारका सञ्चारमाध्यमको समेत आँखा नपुगेका कतिपय क्षेत्र सामाजिक सञ्जाल प्रयोगकर्ताको आँखामा पर्न सक्छ । सामाजिक सञ्जालमा भएको शक्ति भनेकै यो सहजरुपमा धेरैको पहुँचमा पुग्न सक्दछ । त्यसैले प्रयोगकर्ताले फगत कुराकानीका लागि मात्र नभएर सामाजिक परोपकार र आफ्नो वरपरको कल्याणका लागि पनि यसको सदुपयोग गर्न सक्छन् । गलत कामका लागि भन्दा राम्रो कामका लागि प्रयोग हुन सके सामाजिक सञ्जाल र प्रयोगकर्ता दुवैको ओज बढ्छ भने अप्ठेरोमा परेकाले नयाँ जीवन वा सहजता पनि पाउन सक्छन् ।