व्यासको समृद्धिको आधार कृषि

व्यास नगरपालिकाको समृद्धिका लागि कृषिलाई प्राथमिकता दिइने भएको 
छ । नगरपालिकाको एकीकृत विकासका लागि भन्दै सञ्चालन गरेको गोष्ठीमा कृषिलाई पहिलो प्राथमिकता दिइएको नगरपालिकाले जनाएको छ ।  
बन्दीपुर ६ ढाबको मस्र्याङदी रिभरभ्यू रिसोर्टमा सञ्चालित कार्यशाला गोष्ठीमा नगरपालिकाको समृद्धिका लागि दोश्रो ठाउँमा पर्यटन र तेश्रोमा शिक्षाको विकासलाई प्राथमिकतामा दिइएको छ । नगरपालिकाले ‘विविधतायुक्त गाउँ शहर, समृद्ध मेरो व्यास नगर’ नारा तय गरेको छ ।  आगामि दिनहरुमा अग्रणी क्षेत्रहरुलाई प्राथमिकतामा राखि कार्ययोजना तयार गरी, रुपान्तरित शहरको भावी समस्याहरुलाई समाधान गर्दै अघि बढ्ने प्रतिवद्धता नगरपालिकाका प्रतिनिधि तथा कर्मचारीले व्यक्त गरेको सूचना तथा प्रविधि अधिकृत विशाल पण्डितले तयार पारेको प्रेस विज्ञप्तिमा उल्लेख छ । नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षता भएको समापनमा सहभागिहरुका तर्फबाट योजना आयोगमा पुर्व उपाध्यक्ष डा.जगदिशचन्द्र पोख्रेल, उप प्रमुख मिरा जोशी, प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद बांस्तोला, कार्यकारीणी सदस्य चन्द्रमाया परियार, युवाका तर्फबाट अपार पौडेल, क्याम्पस प्रमुख महाप्रसाद हड्खले, उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष बैैकुण्ठ मिश्र, भूकम्प प्रविधि प्रतिष्ठान नेष्ट संस्थाका कार्यकारी निर्देशक सुर्यनारायण श्रेष्ठलगायतले गोष्ठीको उपयोगिताबारे बोलेको नगरपालिकाले जनाएको छ ।