सकियो आदिवासी जनजाति महोत्सव ज्योती मगरको प्रस्तुतीमा दर्शकको घुइंचो

 दमौलीस्थित बीपी वनवाटिका खेल मैदानमा सञ्चालित तेश्रो आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव सकिएको छ । कार्तिक ३० गतेबाट सञ्चालित महोत्सव १२ दिनसम्म चलेको हो ।
महोत्सवको गण्डकी प्रदेश सभा सदस्य सरिता गुरुङले समापन गरिन् । उनले महोत्सवले आदिवासी जनजातिको सांस्कृतिक पहिचान बढाउन मद्दत गरेको 
बताइन् । 
यसअघि महोत्सवमा नेकपाका नेताहरु हावी भएको चर्चाकाबीच आयोजकले कांग्रेसबाट विजयी गुरुङलाई प्रमुख अतिथिका रुपमा निम्त्याएको हो ।
महोत्सव आयोजक समितिकी मुल संयोजक एवं आदिवासी जनजाति महासंघ तनहुँकी अध्यक्ष बसुन्धरा घर्तीको सभापतित्वमा भएको समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठलगायतका अतिथि सहभागी थिए । 
राती अबेरसम्म सांगितिक कार्यक्रम गर्दै महोत्सवको समापन गरिएको थियो । महोत्सव यसअघि सोमबार सक्ने तयारी भए पनि अन्तिम समयमा एक दिन थप गरिएको थियो । महोत्वको समापनका दिन मंगलबार चर्चित गायकी ज्योती मगरको प्रस्तुतीमा दर्शकहरुको घुईचो लागेको थियो । रात अबेरसम्म चलेको महोत्सवमा ज्योतिले गाउँदा दर्शकको ठूलो संख्या उपस्थित थियो ।
उनले उही मुलाको चाना, चोली भित्र जवानी तथा ढाडे बिरालोलगायतका गीत पस्केकी थिइन् । कार्यक्रममा गायक राजु ढकालले आफ्नो गायन पस्केका थिए । 
महोत्सव अवधिभर विविध सांस्कृतिक तथा सांगितिक प्रस्तुती, लोक दोहोरी प्रतियोगिता आदि गरिएको थियो । महोत्सव बाक्लो सहभागीताका कारण सफल भएको प्रवक्ता एवं महासंघका सचिव नन्दु थापाले बताए ।
‘अमूल्य भाषा, संस्कृतिको संरक्षण गरौँ ! भाषा, संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौं’ नाराका साथ महोत्सव सञ्चालन गरिएको थियो ।