व्यास प्रचारका आधारभूत आवश्यकता

-पवन पौडेल
 
चार वेद, महाभारत र  १८ पुराणका रचयिता महर्षि वेदव्यासको तपोभूमि दमौलीले आवश्यक र पाउनुपर्ने जति प्रचार नपाएको तथ्य कसैबाट छिपेको छैन । व्यासभूमिमा चहलपहल बढाउँदै भारतीय पर्यटक भित्र्याउनका लागि थालिएको महायज्ञ र अखण्डकीर्तनले थोरबहुत काम पनि गरेका छन् ।
 
तर हामी प्रचारप्रसारका काममा अझै आवश्यक काम गर्नबाट चुकेका छौं । कुनै पनि ठाउँको प्रचारका लागि त्यस ठाउँको ब्राण्डिङ अति आवश्यक कुरा हो । सूचना र प्रविधिको यतिविधि विकास भैसकेका बेला फेसबुक, ट्विटर, इन्स्टाग्राम तथा युट्युबजस्ता सामाजिक सञ्जालमा प्रचार पुग्न सकेको छैन ।
 
मानिसले धेरै उपयोग हुने यी सामग्रीमा दमौलीको व्यास गुफाका तथ्य खोज्ने हो भने निकै कम मात्र भेटिन्छन् । हामी अझै पनि पुरातनवादी शैलीमा नै बढी रमाएका छौं । जबकि संसारको टूेन्ट अर्कै छ, त्यो पछ्याउन हामी चुकेका छौं । यी त भए सामाजिक सञ्जालका कुरा । वेबसाईट बनाएर सूचना अद्यावधिक गर्ने, अंग्रेजी र भारतीय पर्यटकलाई आवश्यक जानकारी दिने काम हामीबाट हुन सकेको छैन । 
 
आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणपश्चात अहिले राजमार्ग हुँदै जाने पर्यटकको संख्या बढेको छ । तनहुँ र दमौली हुँदै जाने ठूलो संख्याका भारतीय पर्यटकमाझ पनि हामीले व्यासभूमिको सन्देश दिन सकेका छैनौं । मुग्लिङ प्रवेश गर्नासाथ ठूलो बोर्डमा हिन्दूका प्रमुख ग्रन्थकारको भूमि केही किलोमिटरमा बाटोमै पर्ने तथ्य मात्र दिन सकिने हो भने उनीहरुले दमौलीभित्र प्रवेश गरेर दर्शन गर्ने सम्भावना धेरै छ ।
 
तर हामीले त्यति काम गर्न सकेका छैनौं । पृथ्वी राजमार्गमा पर्ने तनहुँको कोत्रेसम्मका ठाउँ ठाउँमा व्यासभूमिमा स्वागतसँगै दमौलीमा व्यासले तपस्या गरेका तथ्य दिने हो भने भारतीय श्रद्धालुहरु पक्कै दमौली पुगेर मात्र गन्तव्य पुग्छन् । तर हामी धेरै काम गर्ने योजनामा लागे पनि साना तत्काल र थोरै बजेटमा गर्न सक्ने कामबाट पछि परेका छौं ।
 
यसमा व्यास नगरपालिका, व्यास क्षेत्र शिव पाञ्चायन विकास कोष र सम्बद्ध अन्य निकायको ध्यान जानु अति आवश्यक छ । बुद्धिमत्तापूर्ण काम गर्ने हो भने थोरै श्रम र सीप अनि अर्थले पनि धेरै महत्वपूर्ण काम हुन सक्छ भन्ने हेक्का ती सबै सम्बद्ध पक्षले राखे अहिलेको अवस्थाभन्दा धेरै सुधार हुने ठाउँ हामीसँग छ ।