भूकम्पले भवन भत्काएपछि चौरमा पढाई

            संजय श्रेष्ठ
 भवन नहुँदा तनहुँको ऋषिङ्ग गाउँपालिका को वडा नं ६ मा रहेको ज्यामिरेमाई प्राविका विद्यार्थीहरु चौरमा पढ्न बाध्य छन् । भौगोलिक हिसाबले विकट ठाउँमा रहेको विद्यालय कक्षा ३ सम्म संचालित 
छ । केही वर्ष पहिला विद्यार्थीको चहलपहल रहे पनि बसाईसराईले १५ विद्यार्थीमा खुम्चिएको विद्यालयमा भूकम्पका बेला क्षति पुगेको थियो । भुकम्पको बेला क्षति पुगेको तीन कोठे जीर्ण भवन भत्काएर नयाँ २ कोठे भवन बन्ने भए पनि तत्काल विकल्प नहुँदा समस्या आएको प्रधानाध्यापक झुलबहादुर थापाले बताए ।
विद्यालयलाई भूकम्प प्रभावितमा राख्न समेत नसकेकाउ उनले बताए । २०७२ को भुकम्प पश्चात पुनर्निर्माण प्राधिकरणबाट टहरा बनाउन आएको रकम २५ हजार बेरुजु बनाएर भूकम्प प्रभावितको रेकर्डमा विद्यालयको नाम समेत थिएन । हालै भने पुननिर्माण प्राधिकरण आयोजना कार्यान्वयन एकाई (शिक्षा)ले भवनलाई प्रभावितको सूचीमा राखेर निर्माणका लागि रकम दिने बताएको छ । करिब ३ महिनामा सक्ने योजना सहित अगाडि बढेको भवन निर्माण कार्य चैत मसान्त भित्र सक्नै पर्ने सम्झौता छ । हाल पठनपाठनमा असहजता आएपछी विद्यार्थीलाई ओछ्याउने फम र स्टेसनरी ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले निजि रुपमा उपलब्ध गराएका छन् । गाउँपालिकाले तत्कालका लागि केही थप व्यवस्था गर्ने उनले बताए ।
मर्जको सुचिमा राखिएको विद्यालय गाउँपालिकाका अध्यक्ष श्रेष्ठकै पहलमा गाभिनबाट जोगिएको 
थियो । विद्यालयमा गुणस्तर कायम गर्नको लागि आवश्यक व्यवस्थापनको लागि गाउँपालिकाबाट डेढ लाख रुपैयाँ विनियोजित भैसकेको छ ।
भुकम्पले क्षति पुगेको भवन चैत मसान्त भित्र सकिसक्नेमा विश्वस्त रहेको एकाईका प्रमुख सूर्यप्रसाद रानाभाट क्षेत्रीले बताए । उनले ऋषिङ्ग गाउँपालिकाभित्र सहिद गंगा मावि ऋषिङ्ग २ काहुँ, राष्ट्रिय आधारभूत विद्यालय ऋषिङ्ग ५ ज्वाला, अमर ज्योती प्रावि ऋषिङ्ग ५  झिरुवासमा भवन निर्माण योजना अनुरुप भवन निर्माण कार्य अगाडि बढेको जानकारी दिए ।