बन्दीपुर अस्पताललाई मानव अंग प्रत्यारोपण केन्द्र बनाउने तयारी ६ करोड लागतमा ५० शैय्याको अस्पताल बनाउने लक्ष्य

तनहुँ बन्दीपुरको बन्दीपुर अस्पताललाई मानव अंग प्रत्यारोपण केन्द्रका रुपमा विकास गरिने भएको छ । 
जिल्लाको पहिलो अस्पतालको क्षमता विस्तार गरी केन्द्रका रुपमा विकास गर्ने लक्ष्यका साथ हाल नयाँ भवन निर्माण थालिएको अस्पताल विकास समितिका अध्यक्ष एवं बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए । ‘सकेसम्म मानव प्रत्यारोपण केन्द्र बनाउने गरी तयारी थालिएको छ,’ उनले भने,‘विकल्पका रुपमा ज्येष्ठ नागरिक अस्पताल बनाउनेबारे पनि सोचिएको छ ।’ हल १५ शैय्यामा सेवा दिइरहेको अस्पतालसँग दुई भवन छन् । अब चार तल्ले भवन निर्माण गरेर आवश्यक पूर्वाधार विकास गर्ने तयारी व्यवस्थापनले गरेको छ । यसका लागि दातासमेत तयार भए पछि काम अघि बढाइएको थापाले बताए । बन्दीपुर मुल थलो भै हाल चितवन बस्दै आएका कृष्णलाल भुषण, चिरञ्जिवीलाल प्रधान र राधादेवी प्रधानले आफ्ना दिवंगत पिता तथा शशुराको स्मृतिमा सोमबार शिलान्यास भएको दुई तल्ले भवनका लागि एक करोड दान घोषणा गरेका छन् । थप ५० लाख दान दिने उनीहरुको तयारी छ । 
‘दाताले साथ दिए पछि लक्ष्य पुरा हुने सोच पालेका छौं,’ अध्यक्ष थापाले भने । भवनका लागि चाहिने काठ गाउँपालिकाले उपलब्ध गराउने भएको छ ।   दुई तल्ला दाताबाट निर्माण भएमा थप दुई तल्लाका लागि गाउँपालिका र प्रदेश तथा संघ सरकारबाट बजेट जुटाउने तयारी गाउँपालिकाको छ । हाल दुई तल्लाका लागि ६ करोड बजेट अनुमान गरिएको छ । अध्यक्ष थापाले बन्दीपुरलाई पर्यटकीय मात्र नभएर स्वास्थ्योपचारका दृष्टिले पनि नमूना बनाउन अस्पतालको स्तरोन्नती र विकास अघि बढाइन लागिएको  बताए ।