दुई हजार पशु चौपायाको उपचार

             संजय श्रेष्ठ
 व्यास ९ गजौंडेमा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । व्यास नगरपालिकाको पशु सेवा शाखाले आयोजना गरेको शिविरका क्रममा झण्डै दुई हजार पशु चौपायाको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको छ । शिविरमा सबैभन्दा बढी बाख्रापछि भैसी, गाई गोरु, कुखुरा, बंगुर तथा कुकुरको उपचार गरिएको शाखा प्रमुख सुरेशचन्द्र घिमिरेले बताए ।
कार्यक्रममा बोल्दै व्यास ९ का वडाध्यक्ष सुरेश थापाले शिविरबाट धेरै पशुपालक किसान लाभान्वित भएको बताए । पशु शाखा प्रमुख घिमिरेले सबैको सहयोग मिलेकाले धेरै पशु चौपायालाई सेवा दिन सकिएको बताए । नगरपालिकाको पशु शाखाकी पशु प्राविधिक कल्पना खनालले आफूले सोचेभन्दा धेरै किसानले लाभ लिन पाएको 
बताइन् । आगामी वर्षहरुमा पनि शिविर हुने उनले बताइन् । शिविरमा एक सय ८२ घरधुरीका किसानले पशु चौपाया परीक्षणका लागि ल्याएका थिए ।
शिविरमा पशुचौपायाको उपचार, बोका तथा बहरको बन्ध्याकरण, कुखुराको शव परीक्षण, कृत्रिम गर्भाधानलगायतका सेवा प्रदान गरिएको शाखाले जनाएको छ । शिविरमा शाखाका  चिकित्सक तथा प्राविधिक, भेटेरिनरी अस्पताल तथा पशु सेवा शाखाका तीन पशु प्राविधिकले सेवा प्रदान गरेका थिए ।