नगरपालिकाका विद्यालयमा व्यासबारे पढाई शुरु

         पवन पौडेल
  व्यास नगरपालिकाले आफ्नै क्षेत्रमा जन्मिएका हिन्दू धर्मका मुल ग्रन्थका सर्जक महर्षि वेदव्यासका बारेमा नयाँ पुस्तालाई जानकारी दिने उद्देश्यले पाठ्यक्रम निर्माण गरेर लागू गरेको 
छ । नगर क्षेत्रभित्रका प्लस टु तहमा पठनपाठन हुने सबै विद्यालयमा यसै शैक्षिक सत्रबाट लागू हुने गरी ‘महर्षि वेदव्यास’ विषय अध्यापन गराउन थालेको हो । 
गत साउनमा बसेको व्यास नगर कार्यपालिकाको बैठकले नगरपालिकाका विद्यालयमा व्यासका बारेमा जानकारी दिने पाठ्यक्रम लागू गराउने निर्णय गरेको थियो । आदिकवि भानुभक्त क्याम्पसका प्राध्यापक डा. रामकुमार अधिकारी संयोजकत्वको समितिले तयार पारेको पाठ्यपुस्तकका आधारमा व्यासका अध्येता काशिनाथ न्यौपानेले पाठ्यपुस्तक लेखेका छन् ।
‘पहिलो चरणमा कक्षा ११ मा लागू हुने गरी पाठ्यक्रम तयार पारेका छौं,’ नगरपालिकाका शिक्षा विभाग प्रमुख अम्बिका आचार्यले भने,‘अर्को वर्ष कक्षा १२ मा पनि लागू हुँदैछ ।’ नगर शिक्षा समितिले व्यास नगर क्षेत्रका सबै विद्यालयमा पाठ्यपुस्तक लागू गराउनका लागि पत्राचार गरेको थियो । नगर क्षेत्रका प्लस टु पढाइ हुने १४ वटै विद्यालयमा पाठ्यपुस्तकको अध्यापन शुरु भएको आचार्यले जानकारी दिए । चार वेद, अठार पुराण र महाभारतका रचयिता महर्षि वेदव्यासका तपोभूमि भए पनि यस क्षेत्रको प्रचार व्यापक हुन नसकेकाले विद्यालय तहमै पाठ्यक्रम लागू गराउन व्यासका अध्येता न्यौपानेले आवाज उठाउँदै आएका थिए । ‘विद्यालयका बालबालिकाले आफ्नो ठाउँको महत्वका बारेमा थाहा पाएमा यस ठाउँको गरिमा सबैतिर पुग्नेछ,’ अध्येता न्यौपानेले भने ।
पाठ्यपुस्तकमा व्यासको जन्मभूमिको महत्व, उनको जन्म, उनले श्रृजना गरेका ग्रन्थहरु तथा व्यासको जन्म दमौली नै भएको तथ्यहरु समेटिएको न्यौपानेले बताए । ५० पूर्णांकको पुस्तकका लागि हप्तामा तीन दिन पठनपाठन गर्ने प्रबन्ध मिलाइएको छ । पाठ्यपुस्तकमा अध्यापन थालेको दमौलीको सत्यवती माविका प्राचार्य इन्द्रप्रसाद पौडेलले यहींका विद्यार्थीले आफ्नो क्षेत्रका बारेमा नपाइकन नहुने भन्दै पाठ्यपुस्तकले विद्यार्थीलाई थप ज्ञान पुग्ने विश्वास व्यक्त गरे । ‘यसले आफ्नो ठाउँका बारेमा थप जान्न र अन्यत्र कुरा पु¥याउन पनि सहज हुन्छ,’ उनले भने ।