रहेनन् कांग्रेस संस्थापक कोईराला

 नेपाली काँग्रेस लमजुङका संस्थापक सभापति काँग्रेस तारानाथ कोइरालाको निधन भएको छ । केही समययता अस्वस्थ कोइरालाको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा निधन भएको 
हो । पञ्चायतकालदेखि नै कांग्रेसमा आवद्ध कोईरालाले बीपी कोईरालाको समयमा जनमतसंग्रहका क्रममा सक्रिय भएर साथ दिएका थिए । बहुदलको प्रचारका क्रममा बीपी कोईराला स्याङजा आउँदा उनीविरुद्ध सरकारले गोली चलाएको थियो । सोही कारण उनले आजीवन अपांगताको सामना गर्नुप¥यो । स्वर्गीय कोइरालाको पार्थिव शरिरलाई तनहुँ र लमजुङको सिमानास्थित मादी रिस्ती दोभानमा अन्त्येष्टि गरिएको छ ।
यसैबीच, कांग्रेसका पूर्व सह महामन्त्री गोविन्दराज जोशीले नेता एवं पञ्चायतकाल देखि नै लामो समय एक साथ रहेर काम गरेका आफ्ना सहयात्रीको निधन भएको भन्दै समाचारले आफू अत्यन्त दुःखित भएको बताएका छन् । एक शोक विज्ञप्ति जारी गर्दै उनले पंचायतका कठिन दिनहरुमा लमजुङ जस्तो विकट जिल्लामा काँग्रेसको संगठन गर्नु सहज नभएको स्मरण गरेका छन् । लमजुङसँगको सिमानामा पर्ने त्रिभुवन माध्यमिक विद्यालय मानेचौका तनहुँमा अध्यापनका क्रममा लमजुङको संगठन गर्दै कहिले वनारस त कहिले पटना हुँदै प्रजातन्त्रको पुर्नस्थापनाका लागि कोईरालाले गरेको योगदान अतुलनीय रहेको उनले बताएका छन् । जननायक बीपी कोइराला जनमतसंग्रहको सन्दर्भमा स्याङ्जा आउदा सरकारको गोलीको निशानाले अपाङग भएका स्वर्गीय कोइराला जिउँदो सहिद भएको जोशीले उल्लेख गरेका छन् ।
विज्ञप्तिमा जोशीले यस दुःखद घडीमा स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको उल्लेख गरेका छन् ।