फरार व्यक्ति कारागार चलान

तनहुँ प्रहरीले विभिन्न मुद्दामा सजाय भै फरार तीन युवालाई पक्रेको छ । तनहुँ अदालतले लागूऔषध तथा बहुविवाह मुद्दामा १० वर्ष अघि नै सजाय सुनाए पनि फरार रहेका अभियुक्तलाई पक्रेर अदालतमै बुझाइएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । पक्राउ पर्ने शुक्लागण्डकी नगरपालिका ४ का २८ वर्षका सर्वजित राईलाई एक लाख जरिवाना तथा दुई वर्ष कैदको सजाय सुनाइएको थियो । यसैगरी पक्राउ अर्का व्यास ६ का ४५ वर्षका सूर्यराजलाई बहु विवाह मुद्दामा ११ महिना १४ दिन कैद तथा १० हजार जरिवाना सुनाइएको थियो । अदालतले व्यास ७ का ३१ वर्षका सन्तोष सुनारलाई बहु विवाह मुद्दामै ७ महिना १३ दिन कैद तथा पाँच हजार रुपैयाँ जरिवाना सुनाएको थियो । 
सबैलाई पक्रेर अदालत बुझाइएकामा अदालतमा जरिवाना भुक्तान गरी अभियुक्तहरु कारागार चलान भएको प्रहरीले जनाएको छ । पछिल्लो समय अदालतको फैसला कार्यान्वयनका लागि भन्दै तनहुँ प्रहरीले सजाय सुनाइएका व्यक्तिहरु पक्रेर बुझाउँदै आएको छ ।