वेदव्यासको पाठ्यक्रमले जगाएको आशा

व्यास नगरपालिकाका माध्यमिक तहमा महर्षि वेदव्यासबारेका सामग्री पाठ्यक्रमका रुपमा समावेश हुनुले चार वेद, अठार पुराण र महाभारतका रचयिता महर्षि वेदव्यासको जन्मभूमि दमौलीमा व्यासको महत्व बढाउनका लागि सकारात्मक भूमिका खेलेको छ । २८ औं व्यासावतार प्रकट भएर हिन्दू धर्मका प्रमुख ग्रन्थहरु सिर्जना गरेको भूमिमा सबैलाई व्यासका बारेमा प¥याप्त जानकारी हुन नसकेका बेला यस कार्यले केही हदसम्ममा प्रचार बढाउन मद्दत गर्दछ । कम्तिमा यहाँका सबै विद्यार्थीले आवश्यक जानकारी पाए पछि वेदव्यासका बारेमा प्रचार र जानकारी फैलाउनका लागि सहजता हुने विश्वास गर्न सकिन्छ । आफ्नै ठाउँमा कुनै जानकारी व्याप्त हुन नसकेमा त्यसले अन्यत्र पार्ने प्रभाव न्युन रहन्छ । यस अर्थमा पाठ्यक्रमकै रुपमा विषय राख्नका लागि धेरै लामो समयदेखि लबिङ गर्दै आएका व्यासका अध्येता काशिनाथ न्यौपाने प्रेरणाका पात्र हुन् । यसमा व्यास नगरपालिकाले पनि दिएको साथ सराहनीय छ । यसले व्यास बारेका जानकारी यस क्षेत्रमा व्याप्त त भएको 
छ । अबको दिनमा व्यास दमौलीको मात्र नभै राष्ट्रका हुन् भन्नका लागि यो स्तर बढाउनु जरुरी छ । कम्तिमा सामाजिक अध्ययनका पाठ्यसामग्री वा नेपाली विषयमा एउटा पाठका रुपमा व्यासको भूमि र उनका सिर्जनाबारेका जानकारी पनि राख्नका लागि यो लबिङ बढाउन सकिएमा व्यास भूमिलाई विश्वमाझ चिनाउनका लागि एउटा ठूलो खुड्किलो पुरा हुनेछ ।