दुग्ध सहकारी संघको २३ औं साधारण सभा

 तनहुँ जिल्ला दुग्ध उत्पादन सहकारी संघ लिमिटेडको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले नगरपालिकाको पहिलो प्राथमिकता कृषि र दोश्रो पर्यटन भएको भन्दै तेश्रा प्राथमिकता शिक्षामा रहेको बताए । उनले नगरपालिकाको प्राथमिकताका क्षेत्र भएका कारण कृषिमा सहयोग गर्न तयार रहेको बताए । सम्भावना भएका कृषि क्षेत्रमा आएका प्रस्तावमा नगरपालिकाले सघाउने उनले बताए ।
व्यास १० का वडाध्यक्ष तुलसीराम सापकोटाले वडामा दुग्ध उत्पादनको सम्भावना रहेको भन्दै यसलाई वृद्धिका लागि सहकारीमा दुध बेच्ने किसानलाई प्रति लिटर एक रुपैयाँ दिने कार्यक्रम ल्याउने घोषणा गरे । उनले नगरपालिकाले सबै वडामा यस्ता कार्यक्रम गर्नुपर्ने सुझाव दिए ।
संघका संस्थापक अध्यक्ष एवं केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका वरिष्ठ उपाध्यक्ष अमरबहादुर कुँवरले आफूले २१ वर्ष नेतृत्वमा रहँदा जग खडा गरेको भन्दै दुध उत्पादन वृद्धि र प्रवद्र्धनका लागि नयाँ कार्य समितिले थप पहल गर्ने विश्वास गरे । उनले राज्य दुग्ध उत्पादक किसानप्रति सकारात्मक हुन नसकेको दाबी गरे । 
सहकारीका अध्यक्ष यज्ञप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख तेजप्रसाद दवाडी, पशु विज्ञ केन्द्र भेटेरिनरी अस्पतालका प्रमुख डा. बालकुमार श्रेष्ठ, सहकारी, व्यास ११ का वडा सदस्य रामकृष्ण अधिकारी, कृषि सहकारी संघका अध्यक्ष रामजी लौडारी, बचत सहकारी संघ तनहुँका अध्यक्ष देवीबहादुर बस्नेत, सहकारी बैंकका उपेन्द्र दाहाल, सहकारीका उपाध्यक्ष प्रेमप्रसाद पौडेल, व्यवस्थापक राजु भुजेललगायतले बोलेका थिए ।