तनहुँमा दुध उत्पादनको सम्भावना

केही वर्ष अघि सम्म पोखराबाट दुध आयात हुने अवस्थालाई जिल्लाको दुध उत्पादनमा भएको वृद्धिले माथ लगाइदिएको छ । दुधको बजार बढेकाले उत्पादन बढाउन दुधमा आधारित पशुपालनतर्फ किसानको आकर्षण बढेको छ । लघुवित्त संस्थाहरुका कारण सहज ऋण उपलब्ध हुनु र पशु बिमा समेतको व्यवस्था हुनु तनहुँको पशुपालनका लागि सुखद पक्ष हुन् । दुधको उत्पादन बढेकैले तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी संघले जिल्लामै पहिलो पटक दुध उद्योग स्थापना गरेको छ । यी सबै अवस्थाले तनहुँमा दुधमा आधारित पशुपालनको आकर्षण र भविष्य देखाएको छ ।  दुधको परिमाण बढेसंगै जिल्लाभरको छाता संगठन तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी संघको बाक्लो पकडका कारण दुध एउटै छातामार्फत बजारीकरण भएको छ । यसले दुधको मूल्य बढी दिलाएको छ । तथ्यांक हेर्ने हो भने तनहुँका किसानले सरकारले तोकेको भन्दा बढी मूल्य पाएका छन् । जुन निकै सकारात्मक हो । यस्तोमा सहकारीमा आधारित गाई तथा भैंसीपालनको महत्वलाई बुझेर सरकारी निकायले थप प्रोत्साहनका काम गर्नु जरुरी छ । दुधको उत्पादन बढ्नुमा तत्कालीन जिल्ला पशु सेवा कार्यालयको कार्यक्रमलाई पनि जस जान्छ । खासगरी तेश्रो पशु विकास आयोजनाले तनहुँमा गाई तथा भैंसीपालनलाई प्रोत्साहन गरेको थियो । पछिल्ला समयमा पशु कार्यालयले दुध सहकारीलाई चिस्यान मेशिन अनुदान, उन्नत जातका घाँसका बीउ वितरण, कृत्रिम गर्भाधानलगायतका प्याकेजमार्फत सहयोग गर्नुले पनि पशुपालनको वातावरण तयार पारेको हो । जिल्लावासीको खुशीको खबर अझै बढ्दै जाओस् र किसानको दुधको उत्पादन लागत घटाउन तथा सहुलियत दरको ऋण र सहज बिमारकम भुक्तानी जस्ता सुविधाका लागि पनि सरोकारवाला क्षेत्रबाट थप तदारुकता बढोस् हाम्रो कामना ।