कांग्रेसका पुराना नेता आलेको राजिनामा

दमौली । नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि, पूर्व उपसभापति, नेपाल राष्ट्रिय मगर संघका पूर्व वरिष्ठ उपाध्यक्ष यमबहादुर आलेले पार्टीप्रति असन्तुष्टि व्यक्त गर्दै राजिनामा दिएका छन् । पार्टीभित्र व्यक्तिवादी प्रवृत्ति हावी भएको तथा गुट र सीमित वर्गको मात्र हित हुने काम भएको भन्दै यसप्रति असन्तुष्टि व्यक्त गरेका आलेले राजिनामाको घोषणा गरेको बताए ।
आलेले सबैलाई समानुपातिक रुपमा परिचालन गर्न नसकेको, पदका लागि जे पनि गर्ने परिपाटी विकसित भएको भन्दै त्यसप्रति असन्तुष्टि जनाएका छन् ।
पार्टी महाधिवेशन प्रतिनिधि भए पनि हाल जिम्मेवारीसमेत नपाएका आले पछिल्लो समय पार्टीका कार्यक्रमहरुमा समेत कम देखिने गरेका थिए । उनले सबै खाले पहिचानलाई समेत पार्टीले स्थान नदिएको गुनासो गरेका छन् ।
आलेले मुलुकलाई समुन्नत, शान्त र सुखी बनाउनको तत्काल ठोस नीति र कार्यक्रम लिएर अघि बढ्नु पर्नेमा त्यो आउन नसकेको र देशका सम्पुर्ण युवाहरु, विज्ञहरुलाई मुलक भित्रै काम दिने तथा गर्ने ठोस नीति र कार्यक्रम पनि आउन नसकेको उल्लेख गरेका छन् ।
पार्टीका पुराना र मगर समुदायमाझ राम्रो पकड रहेको ठानिने आलेले आफुले पार्टीका सबै पदबाट मुक्त रहेर आम नागरीकको रुपमा संघर्ष गर्ने बताएका छन् ।