टेण्डरमा पेस्तोल बोक्ने दुई पक्राउ

दमौली । जिल्ला समन्वय समितिले आह्वान गरेको विभिन्न घाटको गिटी बालुवा निकासीको ठेक्का लिन आएका दुई युवा हतियारसहित पक्रिएका छन् । हरेक पटकजसो टेण्डरका क्रममा युवा समूहहरुबीच धारिलो हतियारको प्रयोग हुने गरे पछि प्रहरीले मंगलबार निकै कडा सुरक्षा व्यवस्था मिलाएको थियो । त्यसैक्रममा भएको खानतलासीका क्रममा विहान पौने ११ बजे मादी पुलबाट दुई युवा पेस्तोलसहित भेटिएका हुन् । दमौलीतर्फ आइरहेको ग ४४ प ४१६५ नम्बरको मोटरसाइकलमा सवार व्यास १० बैरेनीनिवासी २९ वर्षका रविन्द्र गिरी र मोटरसाईकल चालक लमजुङ मध्य नेपाल नगरपालिका १ सोतिपसल निवासी ३२ वर्षका शिवराज गिरी छन् । उनीहरुको साथबाट अमेरिकामा बनेको म्यागजिन जडित ९ एमएमको पेस्तोल बरामद भएको प्रहरी उपरीक्षक उमेशराज जोशीले बताए । 
कम्ब्याट झोलामा लुकाइराखेको अवस्थामा पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ दुवैबिरुद्ध हात हतियार तथा खरखजाना मुद्दामा अनुसन्धानका लागि तनहुँ जिल्ला अदालतबाट म्याद लिएको प्रहरी नायब निरीक्षक मनोज पाण्डेले 
बताए ।
प्रहरीको प्रशंसनीय सतर्कता
यसअघिका टेण्डरका घटनामा जहिल्यै पनि युवा समूहहरुबीचको झडप हुने गरेको थियो । खासगरी ठूलो ठेक्का जारी गर्ने जिल्ला समन्वय समितिमा टेण्डरका बेला एक अर्कालाई टेण्डर हाल्नै निषेध गर्ने गरी युवा समूह जम्मा हुने गरेका थिए । उनीहरुबीचको प्रतिष्पर्धाका कारण हुने झडपमा कैयौं घाइते हुने तथा हात हतियार नै प्रहार हुने अवस्था आए पछि यसपल्ट विशेष सतर्कता अपनाइएको प्रहरीले जनाएको छ । प्रहरीले दमौली प्रवेश गर्ने पूर्वी र पश्चिमी नाकाका अलावा बजारका विभिन्न भागमा ट्राफिक तथा सुरक्षा जाँच समेत गरेको थियो । टेण्डरस्थल जिल्ला समन्व्य समिति  तथा आसपासमा समेत प्रहरी र ट्राफिक समेत परिचालन गरी सुरक्षा र ट्राफिक व्यवस्थापन समेत गरिएको थियो । प्रहरीले शंकास्पद समूहमाथि समेत निगरानी गरे पछि यसपल्टको टेण्डरमा झडप हुन पाएन । प्रहरीले यसैगरी सुरक्षा व्यवस्थापन बढाउने हो भने टेण्डरका क्रममा हुने हिंसात्मक झडप रोक्न सकिने धेरैको विश्वास छ ।