भीमकाली मार्गमा ३ किमि कालोपत्रे थपिने

भीमाद । तनहुँ,स्याङजा हुँदै पाल्पाको रामपुरसम्म जोड्ने तनहुँको पश्चिमवर्ती भीमकाली मार्गमा कालोपत्रे यसै आर्थिक वर्षमा थप गरिने भएको छ । भीमादबाट रामपुरसम्म ३० किलोमिटर दुरीको मार्गका लागि हाल तीन किलोमिटर खण्डमा सडक ग्राभेल गरिसकिएको छ । रणनैतिक हिसाबले तीन जिल्ला जोड्नका लागि महत्वपूर्ण ठानिएको सडकका लागि क्रमशः विस्तार गरिंदै गएको छ । सडकका लागि नियमित बजेट आइरहेकाले चालु आर्थिक वर्षमा तीन किलोमिटर कालोपत्रे सक्ने लक्ष्य राखिएको पश्चिमाञ्चल सडक डिभिजन कार्यालयका इञ्जिनियर कणंसिं खत्रीले बताए । उनले सडकको स्तरोन्नतीका लागि निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्र्तगत तीन करोड २० लाख लागतमा कालोपत्रे गर्न आशिष ऋषि शक्ति पराजुली जेभीलाई ठेक्का प्रदान गरिएको जानकारी समेत दिए ।
सडकको कालोपत्रे भएमा यात्रा समय घट्ने अपेक्षा गरिएको छ । सडकलाई क्रमैसँग कालोपत्रे गरिंदै गएमा भीमाद बजार तीन जिल्लाकै केन्द्र बन्नसक्ने अपेक्षा गरिएको छ । सडक विस्तारमा बजेट विनियोजन गरेका सांसद टुकराज सिग्देलले सडक निकै महत्वको भएका कारण आफ्नो कोषबाट रकम दिएको बताए । पाल्पा र स्याङजाको साँखर पुग्न भीमादबाट अन्यत्रको तुलनामा आधा भन्दा कम समय लाग्छ । 
त्यस क्षेत्रका बासिन्दा काठमाडौं तथा पोखरा जानका लागि भीमकाली मार्गलाई नै प्रयोग गर्दै आएका छन् ।