तनहुँ हाइड्रोको काम २०१७को अन्त्यमा

दमौली । एक सय ४० मेगावाट क्षमताको बहुप्रतिक्षित जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको मुख्य निर्माण कार्य सन् २०१७ को अन्त्यमा शुरु हुने भएको छ । 
आयोजनाले प्राविधिक प्रस्तावका आधारमा बाँधस्थल र विद्युतगृह गरी दुई खण्डको निर्माणका लागि पृथक तीन कम्पनीलाई छनोट गरेको थियो । उनीहरुको प्राविधिक प्रस्तावका आधारमा छनोट भए पनि हाल आयोजनाले उनीहरुको आर्थिक प्रस्तावको मूल्यांकन गरिरहेको सह निर्देशक लोकप्रसाद नेपालले बताए । ‘हामी आर्थिक प्रस्ताव मूल्यांकनकै क्रममा छौं,’ दमौली एफएम ९४.२ को साप्ताहिक कार्यक्रम कुराकानीमा बोल्दै उनले भने,‘दुई महिनामा यो काम सकिन्छ ।’ यसपछि निर्माण कम्पनी छनोट गरेर काम थाल्नेछौं । उनले यसै अंग्रेजी वर्षको अन्त्यमा काम थालिने दाबी गरे ।
झण्डै ५० अर्ब लागत अनुमान गरिएको आयोजनाका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका, एसियाली विकास बैंकलगायतका अन्तर्राष्ट्रिय दाताले सहयोगको प्रतिबद्धता गरिसकेका छन् । सरकारको झण्डै १८ अर्ब लगानी हुने आयोजनाको निर्माणपूर्व बाँधस्थल जाने बाटो तथा सेती नदीमा पुल निर्माण भैसकेको छ । व्यास ५ र ऋषिङ गाउँपालिका १ को सीमामा निर्माण हुने आयोजनाका लागि कर्मचारी आवासगृह तथा आयोजना कार्यालयको भवन निर्माणको काम द्रुत गतिमा भैरहेको साइट इञ्चार्ज विदुर अधिकारीले जानकारी दिए ।
स्थानीय परामर्श मञ्च गठन
सरोकार समितिका कारण आयोजनाको काम प्रभावित हुने गरेको भन्दै आयोजनाले हरेक स्थानीय तहमा जनप्रतिनिधिसमेतको सहभागीतामा स्थानीय परामर्श मञ्च गठन गरेको छ । आयोजना प्रभावित व्यास र भीमाद नगरपालिकाका अलावा ऋषिङ र म्याग्दे गाउँपालिकामा यस्ता मञ्च गठन भैसकेका छन् । मञ्चमार्फत स्थानीयका गुनासो सम्बोधन गर्ने र अनुचित दबाब हटाउने अपेक्षा गरिएको आयोजनाका सञ्चार विज्ञ सचेन गौतमले बताए । आयोजनाले अब आफुसँग सम्बन्धित सबै गुनासो मञ्चमार्फत नै लिने बताएको छ । आयोजनाकै प्रतिनिधिसमेत सहभागी मञ्चले साना तिना गुनासा स्थानीयस्तरमै समाधान गर्ने अपेक्षा गरिएको सह निर्देशक नेपालले बताए ।
प्रभावितलाई १० प्रतिशत रकम थप
आयोजनाले प्रत्यक्ष प्रभावितलाई १० प्रतिशत थप रकम सहायता दिने भएको छ । यसअघि तोकिएको मुआब्जा दरप्रति असन्तुष्टि जनाउँदै केही पक्ष आन्दोलनमा उत्रिएका थिए । आयोजनाले प्रभावित क्षेत्रका सीमान्तकृत, आदिवासी तथा जनजातिलाई बढी प्राथमिकता दिएर झण्डै ६ करोड रकम सहायताका रुपमा दिने सहमति गरेको छ । यसले मुआब्जा दरमा असन्तुष्ट प्रभावितको आन्दोलनलाई पनि मत्थर पार्ने आयोजनाको अपेक्षा छ । हालसम्म आयोजनाले प्रत्यक्ष प्रभावितलाई ४५ करोड मुआब्जा वितरण गरिसकेको लेखा अधिकृत रामनाथ सुवेदीले जानकारी दिए । करिब ७० प्रतिशतले मुआब्जा लगिसकेको आयोजनाको अनुमान छ ।