विवाद सल्टाउने तनहुँ हाइड्रोको सकारात्मक कदम

मुआब्जालाई विवाद बनाउँदै आन्दोलनमा उत्रिएका नागरिकको असन्तुष्टिलाई व्यवस्थापन गर्ने काममा जसरी तनहुँ जलविद्युत आयोजनाले शान्तिपूर्ण निकास निकालेको छ, त्यसले भावी दिनमा आयोजनाका लागि सुखद् बाटाहरु खुला गरिदिएका छन् । मुआब्जा विवादका नाममा विभिन्न गैरसरकारी संस्था समेतले खेल्ने अवसर पाएको यस घटनालाई पाठका रुपमा लिएको आयोजनाले आफैले प्रभावितसँग प्रत्यक्ष सम्पर्क गरेर विवाद समाधान गर्नुले अबका दिनमा आयोजनाको काम अघि बढाउँदा उनीहरुबाट सहयोग मिल्ने कुरा प्रष्ट भएको छ ।
सम्बन्धित सरोकारवाला पक्षबीचको प्रत्यक्ष संवादले समस्या समाधान निस्कने कुरालाई पनि यसले प्रमाणका रुपमा स्थापित गरेको छ । देशका अन्य भागमा मुआब्जादेखि विभिन्न नाममा हुने आन्दोलनका कारण आयोजनाको काम प्रभावित बन्दा त्यसले कतिपयको भविष्य नै अन्धकारमा धकेलिदिएको छ । तनहुँ जलविद्युत आयोजनाले यस मामिलामा अपनाएको कदमलाई बुद्धिमत्तापूर्ण मान्न सकिन्छ । यसले विन विनको अवस्थालाई पनि देखाएको छ । यससँगै आयोजनाले हरेक तहमा स्थानीयस्तरमा आयोजनासँग उब्जने जिज्ञासा र समस्याको समाधानका लागि समन्वय समितिसमेत गठन गरेर भावी दिनमा आइ पर्न सक्ने सम्भावित समस्याका लागि समेत समयमै सतर्कता र तयारी अपनाएको छ । आगामी दिनमा समेत यस्ता पहलकदमी आयोजनाबाट भैरहने हो भने यसले देशका विगतका गलत पाठलाई बिर्साउँदै साँच्चिकै नमूना काम गराउने आशा पलाएको छ ।