‘युवालाई रोजगारी दिए शान्ति आउँछ’

दमौली ।  युवालाई रोजगारीका अवसर प्रदान गर्दै आयआर्जनमा लगाउन सकिए समाजमा शान्ति स्थापना गर्न सकिनेमा दमौलीमा आयोजित एक परिसंवादका सहभागीले जोड दिएका छन् । जिल्ला युवा समिति तनहुँले अन्तर्राष्टिूय युवा दिवसको अवसरमा दमौलीमा आयोजित कार्यक्रममा बोल्दै सहभागीहरुले दमौलीमा हुने गरेका हिंसात्मक घटनामा बेरोजगार युवाको संलग्नता अधिक रहेको भन्दै यसलाई रोक्न विशेष योजना बनाउन व्यास नगरपालिकासँग माग गरे । 
प्रतिउत्तरमा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले उत्पादनमूलक काममा युवालाई लगाउन आफु प्रतिबद्ध रहेको भन्दै त्यसका लागि काम गर्ने बताए । युवालाई समेट्न सीप र क्षमता अभिवृद्धिका काममा नगरपालिका लागि पर्ने उनले घोषणा गरे । उनले विद्यालयको वातावरणसमेत उपयुक्त पार्नुपर्ने भन्दै त्यसमा भूमिका खेल्न शिक्षक, अभिभावक र सरोकारवालासँग आग्रह गरे । 
प्रहरी उपरीक्षक उमेशराज जोशीले प्रहरीले आपराधिक घटनाको अनुसन्धान र निराकरणमा प्रभावकारी काम गरेको भए पनि नागरिक समाज र अभिभावकले सचेतता नअपनाउँदा उनीहरुका छोराछोरी गलत काममा संलग्न भएको बताए । उनले आफ्नो भूमिका निर्वाह गर्न सबैलाई सचेत गराए । 
जिल्ला युवा समितिका प्रमुख नेपालहरि रानाभाटले युवालाई उत्पादनशिल काममा लगाउन समितिले भूमिका खेलेको भन्दै आगामी दिनमा समेत यस कार्यमा प्रतिबद्ध रहने बताए । उनले स्थानीय तहहरुले समेत यस कार्यमा जोड दिनुपर्ने बताए । 
अभिभावक संघका अध्यक्ष ऋषिराम पोख्रेल तथा अधिवक्ता गोविन्द पन्थले अभिभावकहरुले आफ्नो प्रभावकारी भूमिका बहन गर्न सके धेरै हदसम्म युबासम्बद्ध सामाजिक विकृति रोक्न सकिने 
बताए । 
तरुण दलका सह सचिव कुमार गुरुङ, हैरान्स युवा क्लबका अध्यक्ष रबिन पौडेल, जागौं युवा नेपालका अध्यक्ष समुन्द्र पौडेल, रिभरसाईड युवा क्लबका पूर्व अध्यक्ष विष्णु पराजुलीलगायतले युवालाई समेट्ने प्रभावकारी कार्यक्रम भए धेरै हदसम्म सामाजिक समस्या हट्नेमा जोड दिए । 
कार्यक्रममा शिक्षक संघका अध्यक्ष कमलभक्त पोख्रेल, पत्रकार महासंघका उपाध्यक्ष नारायण खड्का, गैसस महासंघ अध्यक्ष रामलीला सुवर्णकार, मानवअधिकार एलायन्सका अध्यक्ष प्रकाशचन्द्र भट्टराई, युथ फर चिल्डूेनकी अध्यक्ष दुर्गा भण्डारी लगायतले युवालाई आयआर्जन र रचनात्मक काममा लगाउन सके शान्ति आउनेमा जोड दिएका थिए । कार्यक्रमको सहजीकरण राष्ट्रिय युवा महासंघ नेपाल तनहुँका अध्यक्ष पवन पौडेलले गरेका थिए ।