तनहुँबाट १२ जना वरिष्ठ अधिवक्ता

दमौली । तनहुँ जिल्लाबाट १२ जना कानुन व्यवसायी वरिष्ठ अधिवक्ताको उपाधि पाउन सफल भएका छन् । नेपाल बार एसोसिएसन तथा अदालतको सिफारिसमा परेकामध्ये डेमोक्रेटिक लयर्स एसोसिएसनका निवर्तमान अध्यक्ष यदुनाथ खनाल, व्यास नगर प्रमुख बैकुण्ठनाथ न्यौपाने, डेमोक्रेटिक लयर्स एसोसिएसनका उपाध्यक्ष दमौलीका कमलामोहन वाग्ले तथा नेपाल ल क्याम्पसका प्राध्यापक बन्दीपुरका रमेश प्रधान छन् । 
यसैगरी बन्दीपुरका विश्वराज भट्टराई र गान्धी पण्डित, भिमादका प्रेमराज सुवेदी र भरतराज खनाल, सिम्पानीका श्रीप्रसाद पण्डित, याम्पाका सुर्यचन्द्र न्यौपाने तथा दमौलीकी शशीकुमारी अधिकारी र भैरवराज पन्त पनि वरिष्ठ अधिवक्ताको सूचिमा परेका छन् । देशैभरबाट दुई सय ७२ जना वरिष्ठको सूचिमा परेकामा तनहुँबाट ठूलो संख्याका कानून व्यवसायीहरु परेका छन् । 
सर्वोच्च अदालतको फुल कोर्टले सिफारिस आएका नामहरु मध्ये तनहुँका १२ सहित देशैभरका नामहरुको अनुमोदन गरेको हो । झण्डै दुई वर्ष अघि नै बार तथा अदालतबाट सिफारिस गए पनि तत्कालीन प्रधान न्यायाधिश सुशीला कार्कीले निर्णय गरेकी थिइनन् । यसपल्ट वरिष्ठ अधिवक्ता बन्नेहरुमा अधिकांशसजो २५ वर्ष सेवा गरिसकेका छन् । कम्तीमा १५ वर्ष वकालत गरेका, राम्रो आचरण बनाएकालाई सर्वोच्चले यस्तो उपाधि दिन्छ । वरिष्ठ अधिवक्ताहरु न्यायाधिश बन्नका लागि योग्य मानिन्छन् । विभिन्न न्यायिक पदहरुमा नियुक्तिका लागि समेत वरिष्ठ अधिवक्ताहरुले प्राथमिकता पाउने गरेका छन् ।