चोरीको भोलिपल्टै पक्राउ

दमौली । दमौली आसपासमा घटेका चोरीका घटनामा प्रहरीले तत्काल कारबाही गरि सफलता पाएको छ । 
तनहुँ प्रहरीले दमौलीको एक होटलबाट चोरी भएको झण्डै सात तोला सुनसहित अभियुक्तलाई एक दिनभित्रै पक्राउ गरेको छ । 
व्यास नगरपालिका वडा नं. ३ सृजना टोलस्थित टकमाया तामाङको प्रनभ खाजाघर होटलबाट सुनको सिक्री, मिनिहार, मंगलसुत्र, लेडिज औठी, टप र पन्चरत्ने बाला समेत झण्डै चार लाख ६ हजार चोरी गर्ने सुलोचना सुनामलाई घटनाको भोलीपल्टै पोखराको नयाँबजारबाट पक्रेको हो । 
घटनालगत्तै परेको निवेदनपश्चात प्रहरीले भोलीपल्टै नयाँबजारस्थित सुनामको आरआर किराना एण्ड खाजा घरबाट चोरी भएका सबै सुनका सामान बरामद गरेको हो । प्रहरी उपरीक्षक उमेशराज जोशीले घटनालगत्तै प्रहरी टोली खटाएर अनुसन्धान गर्दा दोषी पक्रन सकेको बताए । अभियुक्त सुनामबिरुद्ध तनहुँ जिल्ला अदालतमा चोरी मुद्दा दर्ता गरि अनुसन्धान थालिएको उनले जानकारी दिए ।
यसअघि समेत दमौलीका केही सुनचाँदी पसलमा भएको चोरीको घटनामा प्रहरीले दोषीमाथि पक्राउ गरेको थियो ।