विपद्मा पूर्व सतर्कता

केही दिनयता भएको अविरल वर्षाले सतर्क हुनुपर्ने अवस्था ल्याएको छ । विगतका वर्षहरुमा पनि बाढी पहिरोका कारण कतिपय क्षेत्रमा धनजनको क्षति भएका घटना नघटेका हैनन् । यसपल्ट पनि त्यस्ता प्राकृतिक विपदहरु नहोलान भन्न सकिन्न । वर्षाको झरीका कारण सिर्जित त्यस्ता प्रकोपका कारण धेरै परिवारले सदस्य, घर तथा सम्पत्ति गुमाउनु परेको समस्या छ । बाढी, पहिरोका कारण बाटाघाटा बिग्रेर आउने समस्या पनि वर्णन गरिसाध्य छैन । प्राकृतिक प्रकोप कुन समय कसरी हुन्छ भन्ने निक्र्यौल हुँदैन । निक्र्यौल भए पनि यसलाई रोक्नेसम्मको सामथ्र्य कसैसंग रहँदैन पनि । तर समयमै पूर्व सतर्कता अपनाउने हो भने त्यस्ता प्राकृतिक विपदबाट हुने क्षतिलाई न्यूनिकरण गर्न भने सकिन्छ ।
प्राकृतिक विपदको जोखिम न्यूनिकरणका लागि दुईवटा कुरा प्रमुख ठानिन्छ । पहिलो पूर्व सकर्तकता, अनि दोश्रो उद्धार तथा राहत । तनहुँ मध्यपहाडी जिल्ला हो । तनहुँका धेरै क्षेत्र प्रकोपका जोखिममा छन् । बाढी, पहिरो मुख्य जोखिमका क्षेत्र हुन् । यसको जोखिम न्यूनिकरणका लागि सबैभन्दा पहिले जिल्लामा रहेको उद्धार संयन्त्रले सम्भावित जोखिमका क्षेत्र पहिचान गरी प्रकोप आइहालेमा कसरी त्यससंग जुध्ने भनेर स्थानीयलाई पनि सतर्क गराउनु जरुरी छ । यसका लागि स्थानीयस्तरमा सचेतनामूलक जानकारी सम्प्रेषण गर्नु अपरिहार्य छ । यससंगै सम्भावित क्षति भएमा उद्धारका लागि संयन्त्रले के कसरी काम गर्ने । सुरक्षा निकायको भूमिका के रहने, स्थानीय रुपमा कसरी सहयोग परिचालन गर्ने भन्ने विषयमा सोचिनु जरुरी छ । संगै त्यस्ता सूचनाहरु कसरी संकलन गर्ने र सञ्चारमाध्यमबाट के कसरी राहत कार्यमा भूमिका खेल्न सकिन्छ अहिल्यै कार्ययोजना बनाउनु जरुरी छ ।
प्राकृतिक प्रकोपको पूर्व सतर्कताकै विषयमा कुरा गरिरहँदा जिल्लामा वर्षायाममा बाढीका कारण बाटाघाटा बिग्रेर यातायात आवतजावतमा लामो समसम्म आउने कठिनाइबारे पनि समयमै सोचिनु जरुरी छ । तनहुँको दक्षिणी भेग जाने श्रृंगपथ लगायत जिल्लाका धेरैजसो ग्रामीण क्षेत्रमा पहुँच भएका कच्चि सडकहरु वर्षायाममा बाढीले बाटो खोल्ने तथा पहिरो खस्ने कारणबाट अवरुद्ध हुने गरेका छन् । यसले ती क्षेत्रहरुको जनजीवन महिना दिनसम्म प्रभावित हुने र स्थानीयले सास्ती बेहोर्ने गरेको अवस्था छ । तर यदि समयमै ती बाटोको नाला सफा गर्ने, पहिरो गैहाले तत्काल डोजर वा स्थानीयको परिचालनबाट हटाउने, बाटो बिग्रे भत्केको भए मर्मत गर्ने लगायतका सामान्य काम मात्र गरिदिने हो भने धेरै ठाउँमा समस्या नआउने अवस्था छ । यदि सानो सतर्कताले धेरै जोखिम घटाउँछ भने त्यतातिर जिल्ला विकास समिति, नगरपालिका, जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय लगायतका संघ संस्थाले सोच्नु जरुरी छ ।