बन्दीपुरको सिमलटरमा डेढ करोडको खानेपानी शिलान्यास

दमौली । बन्दीपुर गाउँपालिकाको सिमलटारमा डेढ सय घरधुरीलाई लक्षित गर्दै खानेपानी तथा सरसफाइ आयोजना शुरु भएको छ । डेढ करोड लागतको आयोजनाको नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराइले शिलान्यास गरे ।
कार्यक्रममा बोल्दै उनले विकास आयोजनामा नेपाली कांग्रेसको विशेष प्राथमिकता रहेको बताए । भट्टराईले क्षेत्र नम्बर १ मा खानेपानी तथा विकासका काम अघि बढाउन आफु सक्रिय रहेको बताए । ‘महिला दिदीबहिनीको थाप्लोबाट डोको र नाम्लो हटाउन खानेपानी अभियान थालेका छौं,’ उनले भने,‘अब यस्तो समस्या हट्नेछ ।’ 
पूर्व सभासद उर्मिला थापाले खानेपानीको प्रबन्ध नहुँदा सबैभन्दा बढी महिला समस्यामा पर्ने भन्दै समस्या समाधानका लागि गाउँपालिकाले सहयोग नगरेको बताइन् । उनले कांग्रेसको नेतृत्वमा बन्दीपुरमा विद्यालय, बत्तीलगायतका पूर्वाधार विकास गरिएको बताइन् । कांग्रेस जिल्ला सचिव विश्व बाँस्तोलाले विकास जसले गरे पनि हुने भन्दै आफ्नो पार्टी विकासमा अगाडि रहेको बताए ।
भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले स्थानीय सरकारले विकासमा सकेको काम गर्नुपर्ने बताए ।
महिला संघकी केन्द्रीय सदस्य चिनु पोख्रेलले गाउँपालिका नेतृत्वले विकासमा प्राथमिकता नदिएको आरोप लगाइन् । कांग्रेस जिल्ला सदस्य विपिन गुरुङले विकासका काममा गति दिनका लागि पार्टीका नेताहरु लागि परेको बताए ।
खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष रोजनराज बानियाँले एक वर्षभित्र सबैको घरमा पानीका धारा पु¥याउने उद्देश्यका साथ काम थालिएको जानकारी दिए ।