जीर्ण मुग्लिङ पुलको मर्मत शुरु

मुग्लिङ । पहाडलाई तराई तथा राजधानीसँग जोड्ने एक प्रमुख ‘लाइफ लाइन’ मुग्लिङ पुलको मर्मत थालिएको छ । पश्चिमाञ्चल सडक डिभिजन कार्यालय चापाघाटले दुई महिनाभित्र काम सक्ने गरी मर्मतका लागि चितवनको एड्भेञ्चर कन्स्ट्रक्सनलाई जिम्मा दिएको छ । पोखराबाट चितवन तथा राजधानी जोड्ने एक मात्र विकल्प सो पुल पछिल्लो समय हल्लने तथा पाता उप्किएर जोखिमपूर्ण बनेको थियो । पुलका स्टिलका पाता उप्किन थाले पछि सवारी साधन पन्चरसमेत हुँदा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए । कतिपय ठाउँबाट पाता धेरै नै उप्किएर टायर नै खस्ने अवस्था आउन थाले पछि पुल मर्मतका लागि सडकले चासो दिएको हो । ‘एकदमै समस्या देखिएपछि मर्मत थालेका छौं,’ इञ्जिनियर कर्णसिं खत्रीले भने,‘अब जोखिम कम हुनेछ ।’
७४ लाख रुपैयाँमा कामको ठेक्का पाएको कम्पनीले भदौ पहिलो साताबाट काम थालेको हो । मर्मत कम्पनीले पुलको नट कस्ने, बेयरिङको मर्मत तथा स्टिल पाता फेर्ने काम गरिरहेको छ । यसैगरी भत्किएका फलामका भागहरुमा वेल्ङि पनि चलिरहेको छ । यातायात एकतर्फी गरेर प्राविधिकहरु मर्मतमा सक्रिय छन् । यसअघि पुलको मर्मत नहुँदा पुलमै साना सवारी साधन दुर्घटना पर्ने गरेका थिए । यसअघि देखि नै अधिक सवारी चापका कारण जीर्ण बनिरहेको पुल झनै हल्लिन थाले पछि यात्रा जोखिमपूर्ण बनेको थियो । अझै पनि पुलमा साना सवारी साधन हिंड्दा समेत हल्लने समस्या छ । मर्मतमा संलग्न एक प्राविधिक सुरेन्द्र यादवले दुई महिनाभित्र काम सक्ने गरी काम भैरहेको बताए । पहिलो चरणमा पुलको पाता फेर्ने तथा वेल्डिङ गरिरहेका प्राविधिकहरुले दोश्रो चरणमा पुलमुनिका भाग मर्मत थाल्नेछन् । पुलको नटसमेत लामो समयदेखि नकसिएका कारण मर्मतमा बढी समय लाग्ने देखिएको छ । निकै पुरानो भएका कारण पुलका धेरैजसो भागमा खिया लागेका छन् । पुलको पाता सरेर त्रिशुली नदीको भागसमेत देखिन्छ । यी सबै भागको मर्मत हुने र दशैंअघि नै पुल तयार हुने इञ्जिनियर खत्रीले बताए । 
मुग्लिङका स्थानीय पत्रकार विनोद श्रेष्ठ पुलको मर्मतमा समय समयमा काम हुनु पर्ने भए पनि प¥याप्त ध्यान नदिइंदा समस्या देखिएको बताउँछन् । ‘जति ध्यान दिनुपर्ने हो दिइएको छैन,’ उनले भने । धेरै सवारीको चाप थेग्नुपर्ने एक मात्र विकल्प भएका कारण दबाब झेलिरहेको पुलको समयमा मर्मत गर्ने नगरिएमा जोखिम धेरै बढ्ने उनको दाबी छ । हालको मर्मत मात्रले जोखिम पुरा नहट्ने उनी बताउँछन् ।