साहारामा पुनः आचार्य

दमौली । व्यास ४ दमौलीस्थित साहारा कृषि सहकारी संस्था लि. को अध्यक्षमा पुनः कृष्ण आचार्य सर्वसम्मत चयन भएका छन् । शनिबार होटल रिभर भ्यु चापाघाटमा सम्पन्न तेश्रो अधिवेशनबाट आचार्यको नेतृत्वमा सर्वसम्मत कार्य समिति चयन गरिएको हो । सहकारीको उपाध्यक्षमा रामकाजी श्रेष्ठ, सचिवमा पवन पौडेल तथा कोषाध्यक्षमा दिनेशकुमार श्रेष्ठ चयन भएका छन् । यसैगरी कार्य समितिका सदस्यहरुमा देउमाया श्रेष्ठ, हरिबहादुर कार्की र शान्तिदेवी छिनाल चयन भएका छन् । यसैगरी सहकारीको लेखा समिति संयोजकमा सुरज न्यौपाने तथा सदस्यमा शेरबहादुर बोटे र कृष्ण गिरी, ऋण उप समिति संयोजकमा दधिराज घिमिरे तथा सदस्यमा रामचन्द्र अधिकारी र कृष्णकुमार श्रेष्ठ चयन भएका छन् ।
शिक्षा उप समिति संयोजकमा बलबहादुर शाही तथा सदस्यमा बिरेन्द्रकुमार श्रेष्ठ तथा पार्वती गोशली र कृषि तथा प्राविधिक उप समिति संयोजकमा ऋषिराम ढुंगाना तथा सदस्यमा सुनिल नेपाल र सरिता थापा चयन भएका छन् ।
अधिवेशनको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठनाथ न्यौपानेले स्थानीयको नेतृत्व भएको सहकारी विश्वसनिय पाइएको बताए । उनले सहकारी सञ्चालनले सहकारीको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने भन्दै शेयर सदस्यको चासो र सहभागीता पनि वृद्धि हुनुपर्नेमा जोड दिए । व्यास नगरपालिकाले कृषि र सहकारीमा ७० लाख बजेट विनियोजन गरेको भन्दै उनले कृषि र सहकारीमा लगानी गर्न नगरपालिका तयार रहेको बताए ।
कार्यक्रममा व्यास नगरपालिकाकी उप प्रमुख मीरा जोशीले विषादीमुक्त कृषिमा लाग्न सहकारीलाई सुझाव दिइन् । जिल्ला कृषि विकास कार्यालय तनहुँका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारीले दमौलीमा कृषिको प्रबद्र्धनका लागि हाट बजारको व्यवस्था गर्न व्यास नगरपालिकालाई सुझाव दिए । जिल्ला सहकारी संघका महासचिव मदन पण्डितले सहकारीहरुले नियमको पालना गरेर काम गर्नुपर्ने बताए । कार्यक्रममा पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्य, वडा नं २ का वडा अध्यक्ष काशिराम श्रेष्ठ, वडा नम्बर ५ का अध्यक्ष मोहनकुमार श्रेष्ठ, सहकारीका निवर्तमान उपाध्यक्ष किशोर गुरुङ, सचिव दधिराज घिमिरे, कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठलगायतले बोलेका थिए । सहकारीका अध्यक्ष कृष्ण आचार्यले कृषि उत्पादनको बजारीकरण तथा कृषिमा लगानी गर्नका लागि सहकारीले नयाँ नीति र कार्यक्रम ल्याउने घोषणा गरे ।
उत्कृष्टलाई सम्मान
सहकारीले उत्कृष्ट बचतकर्ता व्यास २ का कपिल पाण्डे, उत्कृष्ट ऋणि व्यास १ का गणेश भट्ट, उत्कृष्ट कर्मचारीका रुपमा व्यवस्थापक सन्तराम न्यौपानेलाई सम्मान गरेको छ । कार्यक्रममा शेयर सदस्यताको प्रमाणपत्रसमेत वितरण गरिएको थियो । सहकारीले थप लगानी र योजनाका साथ अघि बढ्ने घोषणा गरेको छ ।