जोशीलाई प्रत्यक्ष टिकट दिन कार्यकर्ताको माग

दमौली । कांग्रेस कार्यकर्ताहरुले पार्टीका प्रभावशाली नेता एवं तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गरेर मन्त्री भैसकेका नेता गोविन्दराज जोशीलाई प्रत्यक्षतर्फको टिकट दिन माग गरेका छन् । बीपी जयन्तीका अवसरमा पोखरामा आयोजित कार्यक्रममा सहभागी हुन आएका पार्टी महामन्त्री डा. शशांक कोइरालालाई भेट्दै उनीहरुले सबै पक्षलाई समेटेर चुनावमा नगए नतिजा राम्रो नआउनेतर्फ सचेत गराएका छन् ।
टोलीको नेतृत्व गर्दै पूर्व सभासद उर्मिला थापाले तनहुँको चुनावी वस्तुस्थितीको अवलोकन गर्दै टिकटबारे निर्णय गर्न डा. कोइरालासँग माग गरिन् । उनले एकलौटी ढंगबाट चुनावमा गएमा नतिजा राम्रो नआउने भन्दै क्षेत्र नम्बर १ मा बढ्दै गएको एमालेको प्रभाव र पार्टीभित्र देखिएको ध्रुवीकरणलाई समेत ख्याल गर्न सुझाव दिइन् ।
पूर्व महाधिवेशन प्रतिनिधि परशुराम गिरीले एकलौटी ढंगबाट चुनावमा जाँदा परिणाम राम्रो नतिजा नआउने बताए ।
महिला संघ केन्द्रीय सदस्य एवम् महाधिवेशन प्रतिनिधि चिनु पोख्रेलले पार्टीभित्रका सबै पक्षलाई सम्बोधन नगरे अवस्था जटिल भएको भन्दै नतिजा राम्रो नआउने बताइन् । उनले यसको प्रभाव चार नम्बर प्रदेसभर पर्ने बताइन् ।
टोलीमा कांग्रेस नेता सुकुमलाल गुरुङ, रेडक्रस कार्यवाहक सभापति डिल्लीराम अधिकारी, शिक्षक संघका अध्यक्ष कमलभक्त पोख्रेल, बीपी विचार समाजका सचिव हरिशरण पण्डित, शिक्षक नेताहरु प्रतापसिं अधिकारी, इन्द्रप्रसाद पौडेललगायत सहभागी थिए । जवाफमा नेता डा. शशांक कोइरालाले आफुले यसबारे नेताहरुबीच छलफल गर्ने बताए । उनले मागका विषयमा आफु सकारात्मक रहेको सन्देश दिएको भेटमा सहभागी महासमिति सदस्य चिनु पोख्रेलले बताइन् ।
‘सेफ लाइन’मा बस्न पौडेललाई सुझाव
तनहुँ क्षेत्र नम्बर १ का नेपाली कांग्रेस कार्यकर्ताहरुले पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेललाई ‘सेफ लाइन’मा बसेर चुनावी सन्तुलन मिलाउन सुझाव दिएका छन् । क्षेत्र नम्बर १ को टिकट वितरण गर्दा सन्तुलन मिलाउन भन्दै उनीहरुले यदि त्यसो नभएमा भानु, बन्दीपुर तथा आँबुमा देखिएको जस्तै सुखद् परिणाम नआउने संकेत गरेका छन् । विगतमा पौडेल क्षेत्र नम्बर १ बाट चुनाव लड्दा साथ दिएको भन्दै उनीहरुले अब समानुपातिकमा बसेर अन्य नेताहरुबीचको सन्तुलन मिलाएर चुनावमा पार्टीलाई सहभागी गराउन सुझाव दिएका छन् । नेता पौडेललाई कांग्रेस नेता पित्तमबहादुर गुरुङ, शोलबहादुर चितौरे, तरुण दल क्षेत्रीय अध्यक्ष बाबुराम श्रेष्ठलगायतको टोलीले भेटेको थियो ।