म्याग्देमा वैज्ञानिक वन व्यवस्थापन अभिमुखीकरण

दमौली । म्याग्देको अकलामा वैज्ञानिक वन व्यवस्थापन विषयमा वनका सदस्यहरुलाई अभिमुखीकरण गरिएको छ । 
फुलबारी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा भएको कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले सामुदायिक वनको व्यवस्थापनका लागि वैज्ञानिक ढंगबाट काम हुनुपर्ने बताए । उनले जिल्लाभर नै व्यवस्थापनका लागि आवश्यक समन्वय गर्ने बताए ।
म्याग्दे गाउँपालिकाकी अध्यक्ष माया रानाले म्याग्दे क्षेत्रमा सामुदायिक वनको विकास बढेको भन्दै यसको व्यवस्थापनमा स्थानीयले चासो लिनु सकारात्मक भएको बताइन् ।
गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले स्थानीय तहका लागि आम्दानी र वातावरणीय हिसाबले समेत वैज्ञानिक व्यवस्थापन जरुरी रहेको बताए । जिल्ला वन अधिकृत अम्बिका पौडेलले वनको समुचित प्रयोग गर्दै आम्दानी बढाउन वनको सहि व्यवस्थापनका लागि योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा म्याग्दे गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष प्रेमबहादुर थापा, वनका अध्यक्ष मानकुमारी श्रेष्ठलगायतले बोलेका थिए ।