“ग्याङ फाइट”मा संलग्न प्रहरी नियन्त्रणमै

दमौली । शनिबार साँझ व्यास ५ पाटनमा स्थानीय युवाहरुसँगको झडपमा संलग्न ऋषिङ १ झापुटारका युवाहरुमाथि प्रहरीले सोधपुछ जारी राखेको छ । घटना हुँदा हुँदै पुगेको प्रहरीले घटनास्थलबाट झण्डै दुई दर्जनलाई पक्रेको थियो । पक्राउ पर्नेहरुसँगबाट एक थान खुकुरी र केही थान लाठी बरामद भएको छ । खुकुरीसहित पाटन प्रवेश गरेका ती युवाहरुले प्रहरी आएपछि केही हतियार नदीमा फालेको बताइएको छ ।
केही समयअघि पाटनका युवाले झापुटारका युवामाथि आक्रमण गरे पछि त्यसको प्रतिवाद गर्न गएका युवाहरुले केही स्थानीयमाथि कुटपिट गरेका थिए । त्यसलगत्तै प्रतिवाद भए पछि दोहोरो झडपको स्थिती आउन लागे पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयको सूचनालगत्तै पुगेको प्रहरीले संलग्न सबैलाई नियन्त्रणमा लिए पछि थप क्षति टरेको एक स्थानीयले बताए । प्रहरी निरीक्षक विजयराज पण्डितले समयमै सूचना पाएकाले थप क्षति हुनबाट जोगिएको बताए ।
घटनापछि प्रहरीले नियन्त्रणमा लिएकाहरुमाथि सोधपुछ गरिरहेको छ । पछिल्लो समय युवाहरुबीच हुन थालेको ‘ग्याङ फाइट’ र त्यसमा घातक हतियारसमेतको प्रयोग हुन थाले पछि नागरिकले सुरक्षा चासो प्रकट गरेका छन् । प्रहरीलेसमेत यस्ता घटनामा बढी चासो देखाउन थालेको छ । एक समूहले गर्ने आक्रमण र अर्कोले गर्ने प्रतिवादको श्रृंखला बढ्दै जाँद दमौलीको पहिचान नै रणभूमि जस्तो बन्न पुगेको छ । प्रहरीसँगै नागरिक समाज र युवा क्लबहरुसमेत यस्ता घटनाको निराकरणका लागि सक्रिय हुनुपर्ने सरोकारवालाहरुको भनाइ छ ।