सांसद टिकटका लागि युवा नेता पौडेलको दौडधुप

दमौली । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल पछिल्लो समय सांसदको टिकटका लागि गृह जिल्ला दौडधुपमा व्यस्त छन् । केही दिनयता गृहजिल्लामा रहेका उनले विभिन्न कार्यक्रमहरुमा सहभागीता जनाउँदै आफ्नो पक्षमा माहोल बनाउन भन्दै दौडेका पौडेलले संसदीय क्षेत्र नम्बर २ अन्र्तगत पर्ने विभिन्न ठाउँहरुमा भेटघाट कार्यक्रमलाई तीव्रता दिइरहेका छन् ।
केही दिनअघि गुणादीको हाइवे रेष्टुरेण्टमा कार्यकर्ताको भेला गराएका पौडेलले त्यसयता विभिन्न कार्यक्रममा सहभागी गराउँदै आफुलाई व्यस्त राखेका छन् । पार्टी केन्द्रीय सदस्य भएका कारण सकभर प्रत्यक्षतर्फको टिकट माग गरेका उनले पार्टीले जिम्मा दिएमा प्रदेसतर्फको टिकटका लागिसमेत तयार रहेको जनाउ दिएका छन् । गुणादी हाइवे रेष्टुरेण्टमा केही दिनअघि भएको कार्यक्रममा उनले भनेका थिए,‘प्रदेस मेरो प्राथमिकता हैन । तर पार्टीले जिम्मा दिएर खटाउँछ भने त्यसका लागि तयार छु ।’ आफु राष्ट्रिय राजनीति गरिरहेकाले प्रदेसको राजनीति प्राथमिकतामा नरहेको संकेत उनले गरे ।
यसैक्रममा भुपु सैनिक कल्याणकारी क्लब चापाघाटले आयोजना गरेको कार्यक्रममा उनले युवाहरुलाई स्वदेशमै बस्ने वातावरण मिलाउन राज्यले विभिन्न प्याकेजका योजनाहरु ल्याउनु पर्ने बताएका छन् । 
दिनदिनै हजारौं युवाहरु खाडी मुलुकमा जान बाध्य भएकाले उनीहरुलाइ स्वदेशमै बस्न विभिन्न किसिमका रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा उनले जोड दिए ।
उनले तनहुँ जलविद्युत आयोजनामा युवाहरुलाई प्राथमिकताका साथ रोजगारी दिनुपर्ने पनि उल्लेख गरे । व्यास ५ का विभिन्न भागमा पार्टी कार्यकर्ता भेटेका उनले कांग्रेसको नेतृत्वमा सुधार ल्याउन सकिए देशको विकासको नेतृत्व पार्टीले गर्न सक्ने धारणा राखे ।