थर्पुमा सोलार बत्ती

थर्पु । थर्पु बजारमा सोलार बत्ती जडान गरिएको छ । थर्पु बजार खानेपानी तथा सरसफाई समितिको सक्रियतामा बजारको प्रवेश बिन्दु तथा विभिन्न भागमा सोलार बत्ती जडान गरिएको हो । समितिका कोषाध्यक्ष भीमलाल श्रेष्ठले २० वटा सोलार बत्ती जडान गरिएको जानकारी दिए । यसअघि सबै ठाउँमा बत्ती नभएकामा हालै सोलार बत्ती जडान गरिए पछि बजार झिलीमिली भएको छ । 
सोलार बत्ती जडानका लागि चार लाख रुपैयाँ खर्च भएको छ । जसका लागि बजार समितिले दुई लाख तथा म्याग्दे वडा नम्बर ४ कार्यालयले दुई लाख रुपैयाँ सहयोग गरेका छन् । बत्ती जडानपछि रातभर पनि उज्यालो भएको र बजारको सुरक्षा तथा सुन्दरतामा वृद्धि भएको कोषाध्यक्ष श्रेष्ठले बताए । 
यसअघि शुक्लागण्डकी नगरपालिका तथा व्यास नगरपालिकाले बजार क्षेत्रमा सोलार बत्ती जडान गरेका छन् । शुक्लागण्डकीले सबै भागमा सोलार जोडेको छ । व्यासले भने सफा सडकमा विद्युतीय बत्ती बालिरहेको छ । अन्य केही भागमा भने सोलार बत्ती जडान भएका छन् ।