बन्दीपुरको होटलमा ३० करोड लगानी

बन्दीपुर । तनहुँको सुन्दर पर्यटकीय नगरी बन्दीपुरको होटल व्यवसायमा झण्डै ३० करोड लगानी थपिएको छ । यस नगरमा फस्टाउँदो पर्यटन व्यवसायमा अहिले लगानीसमेत बढिरहेको छ । पर्यटक थप भित्र्याउनका लागि निजी क्षेत्रसमेत तातेको छ । 
स्वदेशमात्र नभएर विदेशका पर्यटकमाझ निकै नै प्रसिद्ध बन्दीपुर बजार सांस्कृतिक ग्रामीण पर्यटनका दृष्टिले महत्वपूर्ण छ । पृथ्वी राजमार्गबाट करिब १५ मिनेटको सहज यातायात पहुँचबाट पुग्न सकिने बन्दीपुरमा पछिल्लो समय होटल थपिने क्रम बढेको छ ।  यसले लगानी समेत बढाएर बजारमा चहलपहल बढाउन थालेको छ । 
पुरानो मौलिक भवनमा लगानीकर्ताको रुचि
बन्दीपुरमा पछिल्लो एक वर्ष भित्रमा उल्लेख्य मात्रामा लगानी भित्रिएको पर्यटन विकास समितिका अध्यक्ष बैश गुरुङले बताए । ‘पर्यटकको रुचि बढेका कारण यहाँ पुराना शैलीमा भवन बनाउने र होटल चलाउने क्रम बढेको छ,’ गुरुङ आफैलेसमेत झण्डै दुई करोड लागतमा यसै वर्षबाट सेवा थाल्ने गरी होटल बनाइरहेका छन् । बजारमा ठूला लगानीका मात्र झण्डै पाँच नयाँ होटल यसै वर्ष सञ्चालनमा आउँदैछन् । प्राचीन नेवारी संस्कृतिका कारण धनी बन्दीपुर बजारमा भक्तपुरे शैलीका नेवारी घर विदेशी पर्यटकको विशेष रुचिमा परेकाले पुराना भवनको मर्मत तथा नयाँ भवनको निर्माणमा लगानी विस्तार भएको गुरुङले बताए । 
आधुनिक भवनमा प्रतिबन्ध
उनका अनुसार साँघुर बजारबाहेकका आसपासका क्षेत्रमा समेत लगानी वृद्धि भैरहेको छ । बन्दीपुर बजार साँघुरो बन्दै जान थाले पछि अहिले आसपासका क्षेत्रमासमेत ‘मिनि बन्दीपुर’को अवधारणामा काम भैरहेको बन्दीपुर गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले बताए ।  गाउँपालिकाले बजारको पहिचान मेटिन नदिनका लागि पुराना शैलीमै मात्र घर बनाउनुपर्ने नियम बसालेको छ । ‘बन्दीपुरको सुन्दरतालाई आधुनिकताले नबिगारोस् भनेर यस्तो प्रबन्ध गरेका हौं,’ उनले भने । गाउँपालिकाले मौलिकता नभएका भवनको जाँचपास समेत नदिने नीति लिएर बजारको पहिचान जोगाउन लागेको उनले बताए । ‘बन्दीपुरको पहिचान जोगाउन सकिए मात्र पर्यटकको संख्यालाई अझ विस्तार गर्न सकिन्छ,’ उनले 
भने । गाउँपालिकाले तीन तल्ला भन्दा अग्लो भवन बनाउन समेत नदिने नीति लिएको छ ।
विश्व सम्पदा सूचीमा पर्ने प्रसंग बेला बेलामा चल्ने बन्दीपुर बजार हल्लाखल्ला र कोलाहलमुक्त छ । बजारमा सवारी साधनको प्रवेश वर्जित रहेको बन्दीपुर साँच्चिकै सफा र मनमोहक छ । यस्ता सम्पदाले बजारको शोभा बढाएको र पर्यटकको ध्यान तानेको धारणा धेरैको छ ।
पर्यटकको रोजाई पुराना सम्पदामा निर्मित होटलमा पर्ने भएकाले अहिले बजारभित्र पुरानै शैलीमा भवन बनाउने होड नै चलेको छ । बन्दीपुरको विदेशी पर्यटकको बाक्लो चहलपहल रहने चर्चित ओल्ड ईनले अहिले बजारभित्रै पुराना घर भाडामा लिंदै होटल विस्तार गरिरहेको छ । म्यानेजर रामशरण श्रेष्ठ पुराना शैलीका भवन नै विदेशीको रोजाइमा पर्ने भएकाले व्यापार बढेको बताउँछन् । ‘त्यही भएर थप भवन भाडामा लिएर पनि व्यवसाय विस्तार गरेका हौं,’ उनले भने ।