प्रहरीलाई मात्र मुछेर आफ्नो भूमिका नबिर्सौं

दमौलीमा केही समययता खुकुरी प्रहार, ग्याङ फाइटजस्ता हिंसात्मक झडपका घटना बढिरहेका छन् । यसले सानो र सुरक्षित ठानिने नगरको सुरक्षा सुव्यवस्थामा चुनौती खडा गरेको छ । तुलनात्मक रुपमा सानो र सबैको पहल हुने हो भने दमौलीलाई सुरक्षित बनाउन सकिन्छ । केही समययता देखिएको युवा संलग्न झडपको अवस्थाबाट समेत जोगाउन सकिन्छ ।
जिल्लाको सुव्यवस्थाको कुरा गर्ने हो भने सुरक्षा व्यवस्थापन प्रहरी प्रशाशनको जिम्मा ठानिन्छ । हरेक घटना हुनासाथ प्रहरीको कमजोरी भयो भनेर आवाज पनि उठ्दछ । तर अधिकांश घटनामा संलग्नहरु सोही दिन वा केही दिनकै अन्तरमा पक्राउ परेका छन् । घटनाको अनुसन्धान तथा दोषी र ंसंदिग्धको पक्राउमा प्रहरीले देखाएको तत्परता अनि सफलतालाई आधार मान्ने हो भने प्रहरीलाई दोष देखाएर अरु मुक्त हुन सक्ने अवस्था छैन । समाजको सुव्यवस्थामा नागरिक समाजको पनि उत्तिकै भूमिका रहन्छ । आफ्ना छोराछोरीलाई नियन्त्रण गर्न नसक्ने अनि प्रहरीले झडप रोक्न सकेन भनेर भन्ने हो भने समस्याको समाधान हुँदैन । कसैको मनभित्र पनि कोही पस्न सक्दैन । अमेरिकाजस्तो सुरक्षित ठानिने मुलुकमा समेत बेलाबखत गोली प्रहार र बम विष्फोटनका घातक घटना हुन्छन् । तर त्यस्ता घटनाका दोषीहरुको पक्राउ र अनुसन्धानमा अमेरिकी प्रहरीले पाउने सफलता उदाहरणीय छ । दमौलीका घटनाहरुमा संलग्न अधिकांश पक्राउ पर्नुले प्रहरीको अनुसन्धानमा देखिएको दख्खलमा शंका गर्ने ठाउँ छैन । तर नागरिक समाजको भूमिका भने यहाँ कमजोर भएकै हो । पहिलो आफ्नो छोराछोरी अनि छिमेकका युवाको गतिविधिको निगरानी गरेर सम्झाउन नसक्नु अनि घटनापछि पनि जोगाउन खोज्ने बानी नागरिकमा रहँदासम्म हामी सुरक्षित र हिंसारहित समाजको परिकल्पना गर्न सक्दैनौं । यसमा युवा क्लबहरुको भूमिका पनि उल्लेख्य रहन्छ । आफु भूमिकाबाट बिमुख हुने अनि प्रहरीमाथि मात्र दोष थोपर्ने मनोवृत्तिले दमौलीमा हिंसा कम गराउन सक्दैन ।