नारायणगढ मुग्लिङ सडकको गति बढाउ

अदूरदर्शी निर्णयका कारण यात्रुले पाएको सास्तीमा अर्को सास्ती थप्दै व्यवस्थापिका संसदको विकास समितिले मुग्लिङ–नारायणगढ सडकमा रातको समयमा सवारी नचलाउन दिएको निर्देशन चाडबाडका कारण खुला भएको छ । यससँगै मुग्लिङ नारायणगढ सडकखण्डको अवरोधका कारण रातभर सडकमै कुर्नुपर्ने टाढा टाढाका यात्रुले राहत पाउने भएका छन् । तर यो क्षणिक अवरोध हटे पनि यस सडकका कारण कैयौंले दिनहुँ सास्ती बेहोर्ने श्रृंखलाको अन्त्य कहिले हुने हो यसै भन्न सकिने अवस्था छैन । समयमा सडकको काम  नसकिनु अनि पूर्ण इञ्जिनियरिङ सतर्कताबीना धमाधम निर्माण थालिनुले सडक निर्माणकै क्रममा पटक पटक पहिरो खस्ने र सोही कारण लामो समयसम्म सडक अवरुद्ध हुने समस्या देखिएको छ ।
धेरैका लागि ‘लाइफ लाइन’ बनेको सडकमा एक छिन मात्र पनि यातायात रोकिंदा सैयौं प्रभावित हुन्छन् । दिउँसोको समयमा मर्मतको काम अनि पहिरो समेत खस्ने भएकाले हतार हुने यात्रुहरु अघिल्लै दिन नाइट बसमा यात्रा गर्ने गरेका छन् । यस्तोमा रातको समयमा यात्रा रोक्ने निर्णय धेरैका लागि थप पीडादायी बन्न सक्छ ।
सडक मर्मत र विस्तारको काम चल्दै गर्दा सम्भावित बढी जोखिम भएका ठाउँमा बढी सतकर्ता र रोकथामका काम गरिनु जरुरी छ । खस्ने सम्भावना भएका बेला खार्ने, पानी कटाउने उपाय आदि गरेर जोखिम घटाउन सकिन्छ । मुख्य कुरो निर्माणको कामको गति बढाउनु जरुरी छ । पटक पटक समय थप गर्दा पनि समयमै काम नहुने प्रवृत्ति रोकी निर्माण कम्पनीलाई जिम्मेवार बनाएर सडकको काम समयमै सक्नु जरुरी छ ।