वडाध्यक्ष रेग्मीको सय दिनको उपलब्धी

दमौली । पदभार ग्रहण गरेको सय दिन पुगेको अवसरमा शुक्लागण्डकी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष कृष्ण प्रसाद रेग्मीले आफ्ना उपलब्धी सार्वजनिक गरेका छन् ।
अध्यक्ष रेग्मीले आफुले वडा अध्यक्षको जिम्मेवारी सम्हालेपछि शुरु गरेका महत्वपुर्ण सात प्रमुख उपलब्धी तथा १६ दीर्घकालीन योजनाहरु प्रस्तुत गरे । 
वडामा आफुले सय दिनमा अनलाइन घट्ना दर्ता, एकिकृत सम्पत्ति कर वडामा नै संकलन गर्ने व्यवस्था ,सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाट नै वितरण गर्ने व्यवस्थालाइ उनले प्रमुख उपलब्धी मानेका छन् । यसैगरी, उद्योग तथा व्यवसायहरुलाई करको दायरामा ल्याउने प्रक्रिया अगाडी बढाएको, माथिल्लो किमलडाँडामा खानेपानी योजना सम्पन्न गरेको, १८ बर्ष मुनिकालाई सुर्ती तथा मदिराजन्य पदार्थ खरिद बिक्रीमा रोक लगाएको र खानेपानीको समस्या समाधानका लागी चरणवद्ध रुपमा छलफल अगाडी बढाएको पनि उनले जानकारी दिए ।
युवा वडा अध्यक्ष रेग्मीले आगामी तीन बर्ष भित्र ढोरबाराही मन्दिरसम्म जाने बाटो कालोपत्रे गर्ने योजना सुनाए । वडालाई महिला हिंसामुक्त घोषणा गर्ने, ग्रामीण सडकहरुको स्तोरन्नती गर्ने, सार्वजनिक जग्गाहरुको संरक्षण ,अव्यवस्थित बसोवासको समधानका लागी नगरपालिका तथा सरकारलाई दबाब, कृषि उत्पादनको केन्द्र बनाउने लगायतका योजनाहरु बनाएको उनले सार्वजनिक गरे ।