२२ लाखमा जेसिजको भवन सम्पन्न

दमौली ।   जेसिआई व्यास नगरको भवन निर्माण सम्पन्न भएको छ । सन् २०१५ मा शिलान्यास गरिए पनि भूकम्पका कारण मुख्य निर्माण कार्य भने सन् २०१६ मा शुरु भएको थियो । आफ्नै सदस्यहरुबाट संकलित १२ लाख रुपैयाँमा व्यास १ सिमलटारमा तीन आना जग्गा खरिद गरेको जेसिजले आफ्नै सदस्यहरुको सहयोगबाट भवन थालेको थियो । हालै भवनको काम सकिएको संस्थाका पूर्व अध्यक्ष एवं भवन निर्माण संयोजक सुरेश पुरीले बताए । ‘ठूलो हलसहितको कम्पाउण्डयुक्त भवनको कामम सक्न सफल भएका छौं,’ उनले भने ।
जेसिजको भवनका लागि २२ लाख खर्च भएको छ । सदस्यहरुबाट संकलित रकमका अलावा व्यास नगरपालिकाबाट एक लाख तथा जिल्ला समन्वय समितिबाट ५० हजार रकम प्राप्त भएको र बाँकी रकम भने सदस्यले सहयोग गरेको पुरीले बताए । भवनका लागि अझै ६ लाख रुपैयाँ ऋण रहेको उनले बताए । 
तालिम तथा संस्थागत कार्यक्रमहरु सञ्चालन गर्न सकिने गरी जेसिजले बनाएको भवनमा ठूलो हल छ । पछि माथिल्लो तल्लामा ट्रष्ट समेत थप्ने योजना भए पनि रकम अभावका कारण हाल थप गर्न नसकिएको उनले बताए । 
संस्थाका अध्यक्ष श्रीकृष्ण बिजुक्छेले सबैको साथबाट भवन बनेको भन्दै यसको विस्तारमा समेत सहयोगको अपेक्षा गरे ।