कथा अनौठो सपनाको

–विज्ञान भट्टराई
म हिंडिरहेको थिए, एकदम सिधा बाटो वरपर हेर्न लायक त्यस्तो केहि थिएन । जसलाई म ध्यान दिएर हेरुँ मानिसको पदचापको त कुरै छोडौं चराचुरुंगीको चिरबिरसम्म नसुनिने उफ् ! उराठ र ठिट लागिरहेको थियो । 
कसरी म यो ठाउँमा ? आफैँलाई प्रश्न गर्दै अगाडी बढिरहेको छु । यस्तो अवस्थाको सिर्जना कसरी भयो आफैँ अचम्ममा ! कुनै नौलो ठाउँमा हमेसा एक्लै नजाने म यहाँ कसरी ? बारम्बार आफै माथि प्रश्नहरु खडा हुँदै थियो जवाफको खोजीमा ।
म हिँड्दै थिए । अचानक तीन चार जना स–साना भाईबहिनीहरु सायद निलो आकाशे रंगको शर्ट र गाढा निलो पाइन्ट लगाएका थिए । मलाई याद भएसम्म उनीहरूले मलाई उछिनेर अगाडी बढे टक्क उभिएर पछाडि फर्केर मुसुक्क मुस्कुराउदै “सर नमस्कार !”ले सम्बोधन गरे र आफ्नै पारामा अगाडी बढे ‘छक्क परें ! म अनि सर कौतुहलता जाग्यो...कसरी ? फेरी प्रश्न खडा भयो जान्ने उत्सुकताले उनीहरुको पिछा गरिरहें । अहो ! कस्तो अचम्मको ठाउँ कति धेरै मानिस कति भिडभाड कोहि–कोहि गुजुमुज्ज परेर केहि कुराको गन्थनमा व्यस्त थिए  । म हराउन थालें .. ती एकै छिनमा केहि जमातहरू नाराबाजी गर्दै निस्के यो जित कसको ‘. मैले बुझें, भर्खरै मात्र कुनै स्थानको निर्वाचन सकिएको र नतिजाको लागि ती ब्यग्र भिड बसेको रहेछ  । कुरो बुझियो । अझ नतिजा पनि सार्वजनिक भैसकेको ...कति छिटो हो ! बाफ रे बाफ ! ...हुन त आधुनिक युग पो  सोचें अझ भलाद्मीहरु हाइस्कुल लेभलमा पढेको होइन नि फेरी ..धेरै बुझ्छन् पैले बच्नुपर्छ, जित्ने चै को रहेछन् पत्तो भएन । केही गर्ने मौका नै दिएनन् । एक्कासी एक जना आएर बधाई दिन्छ । अर्को आउँछ माला लगाउँछ, बधाई दिन्छ । 
यसरी कैयन हात अगाडि बढे होइन के भैरहेको छ ? मैले पिछा गरेका ती भाइबहिनीहरु कहाँ गए ! कहाँ हराए ! त्यत्रो भीडमा कहाँ खोज्ने म पो हराएँ जस्तो बनायो त्यहाँको माहौलले र म मानिसहरुको काँधमाथि बसेको हुन्छु । एक प्रकारले आफैलाई अप्ठ्यारो लागिरहेको हुन्छ र म सपथ खाँदै छु मलाई पढ्नको लागि कागजको टुक्रा दिइन्छ, तर त्यहाँ नबुझिने भाषा भएकाले म पढ्न असमर्थ हुन्छु र तालीको गडगडाहट सुनिन्छ । लगत्तै मलाई कुनै कोठाभित्र लगिन्छ र अघि छलिएका विद्यार्थीलाई पनि कोठामा देख्दा भने अचम्म लाग्छ ! उनीहरुबाट एक जना उठेर बोल्न थाल्छ र हजुरहरुको कारणले आफ्नो पढ्न पाउने अधिकार खोसिएको अनि मलाई जानकारी हुन्छ कि यो निर्वाचनले उनीहरुको विद्यालय विगत २ हप्तादेखि बन्द थियो । उनी भन्दै जान्छन् उनीहरुको पढ्ने किताब समयमा नआएको बताउँछन्, शिक्षक विद्यालय आएर पनि कक्षाकोठामा नजाने र हाजिरी गरेर घर फर्किने गरेको बताए । उनी चुप लागे र एउटा मानिस बोल्न लाग्यो कोहि उसको पैसा खाएर भाग्यो, एकजना दारीवाला उठेर बोल्छ, “दाजुले आफुलाई सम्पत्तिको लागि मुद्दा हालेको छ ।” एउटा कुनाबाट रुन्चे स्वरमा आवाज आउँछ, “उसको बाउले उससंग जबर्जस्ती गर्न 
खोज्यो ।” अर्को बुढो मानिस बोल्छ, “छोराछोरीले घरबाट निकालिदिए यस्तै–यस्तै मलाई उनीहरुको पीडा, दुःख र आँशुले मलाई गर्मी बढेको अनुभव गराउँछ, यस्ता कैयन घटनाहरु सुनिन्छन् जसले दिमागमा परेको प्रेसरले चिट–चिट पसिना आउन थाल्छ । होइन म कस्तो समाजमा छु, भन्ने बेलामा वैज्ञानिक युग भन्ने अनि नीच, घृणित कार्य गरेर समाजमा शिर ठाडो बनाएर हिड्ने अहो इमान्दार बनेर बाँच्न पनि गाह्रो छ । चित्त बुझाउन नि निकै गाह्रो म टेबलमा रहेको घन्टी बजाउछु । 
एक जना निकै वृद्ध मानिस आएर तपाइको सम्बोधन गरेर बोल्छन, “मलाई बोलाउनुभएको ?” म पानी खाएर सोच्न थाल्छु । टाउको भारि हुन थाल्छ आँखा चिम्म गरेर बस्छु टेबलमा ठुलो आवाज आउँछ म आँखा खोलेर हेर्छु अघि पैले देखिएका कोही हुँदैनन् । केवल ४÷५ जना हेर्दै डर लाग्ने अनुहारका आएर मलाई कराउदै भन्छन्, “काम गराउने अनि के हो चुनाव जितेपछि पैसा नतिर्ने ।” म अचम्ममा धेरै चोटी परिसके तर अहिले म झसङ्ग हुन्छु उनीहरुको टेबल ठोकाइले । अनि म साँच्चिकै झसङ्ग हुन्छु । मेरो कोठाको ढोका कसैले ढक्ढक गरिरहेको छ । 
निकै जोरसँग ‘..साथी रहेछ कलेज जानको लागि मलाई कुरिरहेको रहेछ ! घडी हेर्छु ७ बजिसकेछ ! म उठ्छु अरु केहि नगरी कपडा बदलेर कलेजको लागि निस्कन्छु अनि बाटोमा सपनाको बारेमा सोच्न थाल्छु । कथा सकियो यो कथा बैकुण्ठ जाला भन्ने बेला खुरुखुरु सबको मुखमा आउला !
“बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड त्यो पनि नबुझ्नेलाई मुसाको लिंड ।”