प्रिन्सिपलद्वारा विद्यालयमा आत्महत्या

दमौली । व्यास ५ चापाघाटस्थित शान्ति वर्ष अंग्रेजी माविका प्रिन्सिपल ठाकुरप्रसाद कैनीले विद्यालय प्रांगणमै आत्महत्या गरेका छन् । ५३ वर्षिय कैनी विद्यालय प्रांगणमा रहेको रुखमा झुण्डिएको अवस्थामा शनिबार दिउँसो ३ बजे भेटिएका हुन् । रुखमा झुण्डिएको अवस्थामा स्थानीयले देखेपछि आफन्त र परिवारलाई खबर गरेका थिए । व्यास नगरपालिकाको कमलाबारीका कैनी विद्यालयमै बसोबास गर्दथे । विद्यालयका संरक्षक डम्बरदेव कैनीले आत्महत्याको कारण थाहा नभएको बताए । घटनापछि कैनीले लेखेको एउटा नोट फेला परेको प्रहरीले बताएको छ ।
उता, व्यास १३ गुँदीफच्याङकी एक किशोरी मृत भेटिएकी छन् । घरबाट गत असोज १५ गतेयता सम्पर्कविहिन भएकी स्थानीय १६ वर्षिया सुस्मिता सार्की शनिबार मृत भेटिएकी हुन् । 
घरबाट झण्डै तीन किलोमिटर पर बारी छेउमा झुण्डिएको अवस्थामा उनको शव बरामद भएको र अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।