माओवादी ‘पर्ख र हेर’को नीतिमा

दमौली । आफ्ना तर्फबाट एकल चुनाव लड्नका लागि नाम सिफारिस गरे पनि माओवादी केन्द्रले वाम तालमेलको आधारमा पाउने टिकटको स्थिती हेरी कसरी कदम चाल्ने भन्ने विषयमा छलफल थालेको छ । पार्टीका जिल्ला नेता अतिन्द्रकेशरी न्यौपानेले यसअघि आफ्ना तर्फबाट नाम पठाइसकेको भए पनि अब कसरी अघि बढ्ने भन्नेबारे छलफल भैरहेको बताए । ‘यसअघि सबै ठाउँबाट लड्ने नाम गैसकेको छ,’ उनले भने,‘तालमेलका आधारमा हामीलाई छुट्टिने ठाउँका आधारमा अब नाम तय गर्छौं ।’ पार्टीले क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फको टिकट पाउने सम्भावना रहेको चर्चा गरिन्छ । सो क्षेत्रबाट माओवादी केन्द्रले केन्द्रीय नेता शुरेस आले वा श्रीराम ढकालको नाम पठाउने सम्भावना छ । आले यसअघि सोही क्षेत्रबाट सभासद भैसकेका छन् ।
नयाँ शक्तिले पठायो नाम
नयाँ शक्ति पार्टी नेपाल तनहुँले आसन्न प्रदेस तथा संघीय निर्वाचनमा आफ्ना दलका तर्फबाट सम्भावित उम्मेदवारको सूची केन्द्रमा पठाएको छ । पार्टीको हालै बसेको बैठकले नेताहरुको नाम पार्टीका तर्फबाट सम्भावित सूचीका रुपमा पठाएको जिल्ला संयोजक देवेन्द्र थापाले बताए । थापाका अनुसार पार्टीले संघीय क्षेत्र नम्बर १ तर्फ प्रत्यक्षमा देवेन्द्र थापा तथा संघीय क्षेत्र नम्बर २ तर्फ प्रत्यक्षमा कृष्णराज घिमिरेको नाम केन्द्रमा सिफारिस गरेको छ ।
पार्टीले प्रदेस १ ‘क’ तर्फ अमर भण्डारी, धनशुब्बा तामाङ, लक्ष्मीप्रसाद न्यौपाने र सन्दीप अधिकारी नाम पठाएको छ । प्रदेस १ ‘ख’ तर्फ चुमबहादुर गुरुङ र प्रेमकुमार श्रेष्ठ तथा प्रदेस २ ‘क’ तर्फ देवनारायण श्रेष्ठ तथा ‘ख’ तर्फ जेकेन्द्रकुमार श्रेष्ठको नाम सिफारिस गरिएको छ ।
नयाँ शक्तिले संघीय समानुपातिकतर्फ भीमप्रसाद गौतम तथा प्रदेस समानुपातिकतर्फ जनार्दन वियोगी, तारा भण्डारी, निलकण्ठ घिमिरे र प्रेम घतानेको नाम सिफारिस गरेको छ ।
नयाँ शक्तिमा टिकटको अन्यौल
वाम तालमेलमा नयाँ शक्तिसमेत सहभागी भएका कारण नयाँ शक्तिले प्रत्यक्षतर्फ टिकट पाउने सम्भावना निकै कम छ । तर उसलाई प्रदेसको टिकट दिइने झिनो सम्भावना छ । आफूले टिकट पाएमा सोही आधारमा प्राथमिकता तय गर्ने पार्टी संयोजक थापाले बताए । यद्यपि कुन ठाउँमा टिकट पाउने भन्नेबारेमा अन्यौल नै छ ।
फोरम लोकतान्त्रिकको सिफारिस
नेपाल लोकतान्त्रिक फोरम पार्टीले तनहुँबाट प्रतिनिधि सभाका लागि नेताहरुको नाम सिफारिस गरेको छ । पार्टी अध्यक्ष दीपक भट्टराईका अनुसार प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि प्रत्यक्षतर्फ पार्टी सह अध्यक्ष एवं सांसद शिवलाल थापा, उपाध्यक्ष चन्द्रबहादुर पाटा, कोषाध्यक्ष सुशीला अधिकारी तथा केन्द्रीय सदस्य धनमाया गौलीको नाम सिफारिस गरिएको छ । यसैगरी केन्द्रीय सभाको समानुपातिकतर्फ जिल्ला अध्यक्ष दीपक भट्टराईको नाम पार्टीले सिफारिस गरेको छ ।
पार्टीले प्रदेस सभा प्रत्यक्षतर्फ प्रदेस १ बाट खड्कबहादुर आले, धनमाया गौली र चिनिमायाँ दरै तथा प्रदेस २ तर्फ प्रत्यक्षमा बेलबहादुर आले र हरिलाल थापाको नाम पठाएको छ ।