सबैजसो निजी विद्यालय बन्द

दमौली । प्याब्सनका कार्य समिति सदस्य एवं शान्ति वर्ष अंग्रेजी मावि चापाघाटका प्रिन्सिपल ठाकुरप्रसाद कैनीको निधनको शोकमा तनहुँका सबैजसो निजी विद्यालय बन्द गरिएको छ । 
प्याब्सन तनहुँले आईतबार विहानै सूचना जारी गरेर विद्यालय बन्द गर्ने घोषणा गरेलगत्तै एनप्याब्सनले समेत विद्यालय बन्दको घोषणा गरेको थियो ।
प्याब्सन सदस्य लोककुमार गुरुङले असामयिक निधन भएका शिक्षकप्रति सम्मान प्रकट गर्न विद्यालय बन्द गरिएको बताए । एनप्याब्सन सह सचिव बिपिन श्रेष्ठले शिक्षक कैनीप्रति सम्मान प्रकट गर्ने प्याब्सनको कार्यक्रममा ऐक्यबद्धता जनाइएको बताए ।
आकस्मिक सूचनाका कारण केही विद्यालयमा भने पठनपाठन भएको थियो । कैनी शनिबार विद्यालय प्रांगणमा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । उनको आत्महत्या भएको बताइएको छ ।