सिद्धेश्वरीमा पुस्तकालयका लागि युवाको सहयोग

दमौली ।   सिद्धेश्वरी मा.वि व्यास १२, कमलाबारीमा पुस्तकालय विस्तारका लागि यूथ ईनोभेसन नेट्वर्क तनहुँले २७५ थान पाठ्यपुस्तक र सहायक पाठ्य सामग्रीहरू हस्तान्तरण गरेको छ । संस्थाका अध्यक्ष कैलाश पाण्डे र उपाध्यक्ष विजय श्रेष्ठले संयुक्त रूपमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष गीता नहर्की र प्रधानाध्यापक राजेन्द्र सिग्देललाई सामग्री हस्तान्तरण गरेका हुन ।
कार्यक्रममा व्यास १२ का वडाध्यक्ष तोत्रबहादुर कुँवरले सहयोगले विद्यालयको पठन सिकाइमा सकारात्मक योगदान दिने विश्वास व्यक्त गरे । प्रधानाध्यापक सिग्देल र व्यवस्थापन समीतिको अध्यक्ष नहर्कीले संस्थाको सहयोग अतुलनीय भएको भन्दै आभार प्रकट गरे । 
सहयोगी संस्थाका अध्यक्ष पाण्डेले कक्षा ९ र १० का विद्यार्थीहरूलाई स्मार्ट स्टडी, समय व्यवस्थापन र प्राथमिकता निर्धारण सम्बन्धी उत्प्रेरक कक्षा पनि संचालन गरेका थिए ।