क्रान्तियोद्धा उमाभद्रको सम्झनामा ग्रन्थ

दमौली । नेपाली कांग्रेसले २००७ सालमा थालेको सशस्त्र क्रान्तिमा सक्रिय तनहुँका योद्धा उमाभद्र खनालको जीवनी तथा क्रान्तिताकाको तनहुँको परिवेशमा आधारित स्मृति ग्रन्थ ‘सम्झनामा उमाभद्र’को विमोचन गरिएको छ । 
स्मृति ग्रन्थको नेपाली काँग्रेसका महामन्त्री सशांक कोइरालाले विमोचन गरेका हुन् ।
तनहुँ सिमपानीका खनाल सशस्त्र क्रान्तिमा हतियारसहित राणा फौजबिरुद्ध बन्दीपुर आक्रमणमा सक्रिय थिए । तत्कालीन कांग्रेस नेता श्रीभद्र शर्माका सहोदर भाई उनी गोली लागेर बन्दीपुरमा घाइते समेत बनेका थिए । तनहुँमा हलो क्रान्ति गर्नमा उनको समेत योगदान रहेको ठानिन्छ ।
स्मृति ग्रन्थमा शर्मा, क्रान्तिमा उनको योगदान र २००७ सालताकाको तनहुँको क्रान्तिको अवस्थाबारे कांग्रेस नेताहरुको लेख समाविष्ट छ । 
प्राडा डा. जयराज आचार्यले सम्पादन गरेको कृतिले तत्कालिन क्रान्तिमा खनालको योगदान मात्र नभएर समग्र सामाजिक र राजनीतिक परिवेशबारे चर्चा गर्ने राजधानीमा आयोजित विमोचन कार्यक्रमका सहभागीले बताए । 
कांग्रेस महामन्त्री कोइरालाले लामो समय ओझेलमा परेका व्यक्तिको स्मृति विमोचन गर्न पाउँदा खुशी लागेको बताए । 
कार्यक्रममा सांसद रामचन्द्र पोख्रेल, काँग्रेस केन्द्रीय सदस्य  गोविन्द भट्टराई, नेताहरु अमरराज कैनी, तेजबहादुर पन्थ, नेपाल सरकारका पूर्व सचिव विजयराज भट्टराई र रविकला न्यौपाने खनाललगायतले कृतिमाथि चर्चा गरेका थिए ।