सिन्धु मार्गमा गुणस्तरहिन काम

दमौली । सिन्धु मोटर मार्गको कालोपत्रे गर्ने जिम्मा लिएको वाइपी कन्स्ट्रक्सनले गुणस्तरहिन काम गरेको पाइएको छ । साँगे पुलबाट व्यास ६ को वडा कार्यालयसम्म १२.३ किलोमिटर सडकमा ओटासिल, कल्भर्ट तथा पक्की नाला बनाउन नौ करोड ८५ लाखमा ठेक्का पाएको कन्स्ट्रक्सनले गुणस्तरहीन काम गरेको उपभोक्ताको गुनासोपछि काम रोकिएको छ । नाली बनाउँदा सिमेन्ट कम प्रयोग गरिएका कारण बनि नसक्दै संरचना कमजोर बनेको व्यास ५ का वडा अध्यक्ष मोहनकुमार श्रेष्ठले बताए । उपभोक्ताको गुनासोपछि तत्कालका लागि काम रोक्न भनिएको उनले बताए । ‘हामीले कम गुणस्तरीय काम भएको पाएपछि कामको मूल्यांकन गर्न लागेका छौं,’ उनले भने,‘गुणस्तरीय काम नहुँदासम्म काम अघि बढ्न सक्दैन ।’
मार्गलाई स्तरोन्नति गर्ने भन्दै कन्स्ट्रक्सनलाई जिल्ला समन्वय समितिले गत वर्ष नै ठेक्का दिएको थियो । तर ठेकेदारले कामसमेत ढिलो गरेको गुनासो स्थानीयको छ । 
व्यास ६ का वडा अध्यक्ष सूर्यभक्त भण्डारीले काम सन्तोषजनक नभएकाले आफूले पनि ठेकेदारलाई सचेत गराएको बताए । सिन्धु मोटर मार्गका अध्यक्षसमेत रहेका भण्डारीले प्राविधिक कार्यालयका इञ्जिनियरलाई समेत बाटोको कामको अनुमगमनका लागि भनेको बताए ।
निर्धारित समयभन्दा ढिलो काम गरेको कन्स्ट्रक्सनले गरेको कामको अनुगमन र जाँचपछि मात्र थप काम अघि बढाउन सकिने व्यास ५ का वडा अध्यक्ष श्रेष्ठले बताए । 
यता, कन्स्ट्रक्सनका सञ्चालक रत्न प्रधानले उपभोक्ताको गुनासोबारे आफूले थाहा पाएको भन्दै आफू आएर स्थिति हेर्ने बताए । ‘मैले काम नहेरि केही भन्न सक्दिन,’ उनले भने,‘कमजोरी भएको भए सच्याउँछु ।’ कम्पनीले १२ करोड बढी आंकलन गरिएको सडक एक चौथाई कम रकममा काम गर्ने टेण्डर पारेको थियो ।