कमजोरी सच्याउने ठेकेदारको प्रतिबद्धता

दमौली ।   सिन्धुका ठेकेदार सम्पर्कमा सिन्धु मोटर मार्गमा गुणस्तरीय काम नगरेको आरोप लागेका ठेकेदार कम्पनीका प्रतिनिधिले काम सुधार्ने प्रतिबद्धता जनाएका छन् । मार्गअन्र्तगत साँगे पुलबाट व्यास ६ को भवनसम्म १२ किलोमिटर खण्डमा ओटासिल तथा नाला बनाउने गरी नौ करोड ८५ लाखमा ठेक्का पाएको वाइपी कन्स्ट्रक्सनले कम सिमेन्ट तथा कमसल बालुवा प्रयोग गरेको भन्दै स्थानीयले विरोध जनाएपछि काम रोकिएको थियो । हाल निर्माण कम्पनीका सञ्चालक आएर गल्ती सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । मार्ग उपभोक्ता समितिका अध्यक्ष सूर्यभक्त भण्डारीले ठेकेदार कम्पनी सम्पर्कमा आएको र गुणस्तरीय काम गर्नका लागि दबाब दिएको बताए ।
कन्स्ट्रक्सनका सञ्चालक रत्न प्रधानले बालुवा अभाव भएका कारण मादीको बालुवा प्रयोग भएको भन्दै अब त्यस्तो गल्ती नहुने दाबी गरे । बैशाखसम्ममा काम सक्ने दाबी गरेको कन्स्ट्रक्स्नले काममा समेत ढिलाई गर्दै आएको आरोप छ । यद्यपि प्रधानले बैशाखमै काम सकिने दाबी गरे । कम्पनीले काममा लापरबाही गरेको भनेर उपभोक्ता विरोधमा उत्रिए पनि जिल्ला प्राविधिक कार्यालयले भने यसबारे चासो नदिएको आरोप लागेको छ । मार्गमा काममा लापरबाही भएको खब दमौली खबर दमौली एफएम ९४.२ ले प्रकाशन तथा प्रसारण गरे पछि सरोकारवालाले चासो देखाएका हुन् ।