एमालेका समानुपातिक आकांक्षी दुई दर्जन

दमौली ।   नेकपा एमाले तनहुँले दुई दर्जन बढी नेताहरुको नाम समानुपातिकतर्फ उम्मेदवारका रुपमा राख्न पार्टी प्रदेस कमीटीलाई सिफारिस गरेको छ । पार्टीको सचिवालय बैठकले जिल्लाका चारवटा प्रदेस तथा दुईवटा संघबाट तीन जनाका दरले नेताहरुको नाम सिफारिस गरेको उप सचिव विष्णुभक्त सिग्देलले बताए । 
प्रदेस कमीटीले सिफारिस गरेपछि मात्र ती नाम केन्द्रीय कमीटीमा पुग्ने उनले जानकारी दिए । केन्द्रीय कमीटीले मंगलबारसम्म जिल्ला कमीटीबाट आएका नाममा कटौती गरेर अन्तिम रुप दिंदैछ । पार्टीले नाम टुंग्याउन निकै कठिनाइको सामना गरेको श्रोतको दाबी छ । असन्तुष्टिकाबीच कतिपय नेताको नाम प्रदेस र संघ दुवैको समानुपातिकमा परेको छ ।
एउटा क्षेत्रबाट तीनजनाको नाम पठाउनुपर्ने भने पनि कतिपय ठाउँबाट त्योभन्दा बढी नाम सिफारिस भएको श्रोतको दाबी छ । 
पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एकबहादुर राना संघीय, महिला नेतृ कलिला खान संघीय, माओवादीबाट हालै प्रवेश गरेका नेता घनश्याम देवान प्रदेस तथा पुराना अधिवक्ता फणिन्द्र पाण्डे र दलित नेता रामलिला सुवर्णकार प्रदेस समानुपातिक सदस्यको सूचीमा परेका छन् । यद्यपि प्रदेस कमीटीले  जिल्लाबाट गएको नाममा व्यापक कटौती गर्ने सम्भवना छ । बन्द सूचीको लागि नाम पठाउने क्रममा एमाले तनहुँमा व्यापक चर्काचर्की परेको श्रोतको दाबी छ । यसकारण पनि पार्टीले प्रदेसमा पठाएका नेताहरुको नाम सार्वजनिक गरेको छैन ।