प्रभावितलाई तनहुँ हाइड्रोको प्राविधिक तालिम

दमौली । तनहुँ जलविद्युत आयोजनाले प्रभावितहरुका लागि प्राविधिक तालिम प्रदान गर्ने भएको छ । आयोजनाले आफ्ना तर्फबाट प्रत्यक्ष प्रभावित क्षेत्रका बासिन्दालाई भावी दिनमा आयोजनामा रोजगारीका लागि सहयोग हुने गरी प्राविधिक तालिम दिन लागेको साईट इञ्चार्ज विदुर अधिकारीले बताए । आयोजनाले व्यास र भीमाद नगरपालिका तथा म्याग्दे र ऋषिङ गाउँपालिकाका प्रभावितहरुलाई म्यासन, ईलेक्ट्रिसियन र प्लम्बिङ तालिम दिन लागेको छ । आयोजनाबाट रोजगारीको अपेक्षा गरिरहेका प्रभावितहरुलाई मुख्य निर्माणको काम शुरु हुनुपूर्व दिइने तालिमले सहयोग गर्ने विश्वास गरिएको आयोजना प्रभावित व्यास ५ का वडा अध्यक्ष मोहनकुमार श्रेष्ठले बताए । 
आयोजनाले तनहुँ प्राविधिक शिक्षालय भीमादसँगको सहकार्यमा यस्तो तालिम दिन लागेको प्रशासकिय अधिकृत भोला शर्माले जानकारी दिए । पहिलो चरणमा चारवटा स्थानीय तहका ५० जनालाई तालिम दिने लक्ष्य आयोजनाले राखेको छ । मुख्य निर्माणका लागि ठेकेदारसँग सम्झौताको अन्तिम चरणमा रहेको आयोजनाले अबको तीन महिनाभित्र ठेकेदारले काम गर्ने अपेक्षा गरेको छ । ‘भावी दिनमा स्थानीयलाई रोजगारी दिनका लागि पनि दक्ष जनशक्ति उत्पादनका लागि आफैले प्रयास थालेका हौं,’ साइट इञ्चार्ज अधिकारीले भने । आगामी दिनमासमेत यस्ता तालिमलाई निरन्तरता दिने आयोजनाको योजना छ । 
आफ्नै ठाउँमा बन्ने आयोजनाबाट स्थानीयलाई धेरै रोजगारीका अवसर दिनुपर्ने स्थानीयको माग छ । आयोजनामा अदक्ष भन्दा दक्ष प्राविधिक प्रकृतिका जनशक्ति ठेकेदार कम्पनीले प्रयोग गर्ने भएका कारण पनि अधिकारीहरुले प्राविधिक तालिममा जोड दिएका छन् । ‘दक्ष प्राविधिक नभएमा स्थानीयलाई सोचेजस्तो रोजगारी दिने अवस्था नआउन सक्छ,’ एक अधिकारीले भने,‘त्यसैले स्थानीय यतातिर सचेत हुनुपर्छ ।’
४९ करोड मुआब्जा
शुरुमा रकमको दरमा असन्तुष्ट हुँदै रकम नलैजानेको संख्या अधिक रहे पनि आयोजनाले मुआब्जा रकम ठूलो परिमाणमा प्रभावितालाई वितरण गर्न सफलता पाएको छ । झण्डै ७० करोड बाँड्ने लक्ष्य राखिएकामा हालसम्म ४९ करोड १७ लाख रुपैयाँ मुआब्जा वितरण भएको प्रशासकिय अधिकृत भोला शर्माले जानकारी दिए । चालु आर्थिक वर्षमा मात्र झण्डै चार करोड रुपैयाँ मुआब्जा आयोजनाले बाँडेको छ । आयोजनाले दर नबढाए पनि बढी प्रभावितलाई विस्थापित भएवापतको क्षतिपूर्तिलगायत अनुदान दिने सहमति गरेर असन्तुष्ट पक्षलाई पनि सम्बोधन गरेको छ ।