सांस्कृतिक महोत्सव ‘सांस्कृतिक’ बनोस्

दमौली । तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईले महोत्सवका नाममा अस्वस्थ प्रतिष्पर्धाको वातावरण आउन नदिन सरोकारवालाको ध्यानाकर्षण गरेको छ । आगामी पुष २७ गतेबाट माघ ७ गतेसम्म दमौली महोत्सव आयोजना गर्न लागेको इकाईले आदिवासी जनजाति महासंघले आयोजना गर्न लागेको जनजाति सांस्कृतिक महोत्सवलाई नितान्त सांस्कृतिक महोत्सवकै रुपमा आयोजना गर्न आग्रह गरेको छ ।
इकाई सभापति कृष्ण आचार्यले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र पठाउँदै इकाईले व्यापारिक क्षेत्रको प्रबद्र्धनका लागि विगत ११ वर्षयता संघ र आफ्नै आयोजनामा महोत्सव गर्दै आएको स्मरण गराएको छ । व्यापारिक हिसाबले फरक फरक संघ संस्थाले महोत्सव गर्दा अस्वस्थ प्रतिष्पर्धा तथा सामाजिक सद्भावमा पनि असर पर्ने इकाईको बुझाई छ ।
जिल्ला समन्वय समिति, व्यास नगरपालिका तथा प्रहरी कार्यालयलाई समेत बोधार्थ दिइएको ध्यानाकर्षण पत्रमा आदिवासी जनजाति महासंघबाट हुने सांस्कृतिक महोत्सवले सांस्कृतिक पक्षलाई बढावा दिनुपर्ने सुझाव दिइएको छ ।
विगतका वर्षमा महासंघ र उद्योग वाणिज्य संघबीच आन्तरिक असमझदारी भए पछि महासंघले छुट्टै सांस्कृतिक महोत्सव गर्न लागेको छ ।