यातनापीडित नेपाली बालक भारतीयको कब्जाबाट छुटे

प्रकृति न्यौपाने
दमौली ।   जिल्ला बालकल्याण समिति तनहुँले बिगत ६ वर्षदेखि बेपत्ता भएका  एक बालकको पुनर्मिलन गराएको छ । म्याग्दे ७ तुरतुरेका रामबहादुर गुरूङका छोरा कृष्ण भनिने खगेन्द्र गुरूङलाई भारतीय प्रहरीको सहयोगमा बालबालिकासम्बद्ध संघसंस्थाले उद्धार गरेका छन् । दमौलीमा एक कार्यक्रमको आयोजना गरि पारिवारिक बालकलाई पारिवारिक पुनर्मिलन गराइएको छ । इन्डो नेपाल बाल संरक्षण फोरम नेपालगञ्जको सक्रियतामा बालकको उद्धार भएको हो । समयमै पर्याप्त जानकारी प्रदान गरिएका कारण उद्धार सम्भव भएको संस्थाले बताएको छ । ग्रामीण समाज सेवा मञ्च नेपालगञ्ज समेतको सक्रियतामा बालकको उद्धार सम्भव भएको बाल कल्याण समितिले जनाएको छ ।
बेपत्ता बालक भारतीय सरदार चरनसिंह भनिने व्यक्तिका घरमा चरम यातना र बालहिंसा सहन बाध्य भएको र परिवारले समेत बेवास्ता गरेको बालकको आरोप 
छ । भारतीय कानुअनुसार बालक राखेका ती सरदारलाई जेल चलान गरिएको र एक लाख जरिवाना गराइएको छ । बालबालिकालाई बेवास्ता गरेकाले अभिभावकलाई समेत खोजीको सूचीमा राखी कारबाही गरिने उद्धारमा सक्रिय भारतीय प्रहरीले जनाएको छ ।
यता, नेपाल महिला तथा बालबालिका सेलका प्रहरीले समेत बालकको प्रकरणलाई सत्य तथ्य पत्ता लगाइ न्याय दिइने जानकारी दिएको छ । बालबालिकाका निम्ति राज्य तथा अभिभावक सचेत नभइदिंदा आफ्नै आफन्तले समेत बालबालिका बेचेका र व्यक्तिगत स्वार्थमा रमाइरहेका समुहलाई यो घटनाले झसङ्ग गराएको जिल्ला बालकल्याण समितिका सदस्य रामनाथ भट्टराईले बताए ।
कार्यक्रममा निमित्त  बालकल्याण अधिकारी राधा वाग्लेले बालबालिकाप्रतिको दायित्व परिवारले वहन नगरेकाले बालबालिकालाई  अधिकार सम्पन्न गराउन नसकिएको बताइन् । उनले नीतिगत पहलमा राजनीतिक   संरक्षण बढेकाले कडाइ गर्न असहज हुने तर्क गरिन् । बालकलाई  फूपू र बाबाको जिम्मा लगाइ पारिवारिक पुनर्मिलन गराइएको  जिल्ला बालकल्याण समितिका कार्यक्रम अधिकृत सन्तोष गोदारले जानकारी दिए । बालकले १० वर्षको उमेरमा घरमा काम गरेर चरम यातना पाउँदा समेत पिता रामबहादुरले बेवास्ता गरेको र खोजतलासमा ध्यान नदिएको पाइएको छ । बालककी आमा सम्पर्कमा नआएकाले उनलाई फुपुको संरक्षणमा राखिने निर्णय गरिएको जिल्ला बालकल्याण समिति तनहुँकी मुना तामाङले जानकारी दिइन् ।