वडामा सामाजिक सुरक्षा भत्ता

दमौली ।   व्यास नगरपालिका वडा नम्बर १ को कार्यालयले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण थालेको छ । भादगाउँमा आयोजित कार्यक्रमकाबीच नगर उप प्रमुख मीरा जोशीले भत्ता वितरण शुरुवात गरिन् । उनले वडाबासीलाई सेवा दिन नगरपालिका तत्पर रहेको बताइन् । वडा अध्यक्ष खरसिं दरैले वडावासी वृद्धवृद्धालाई बैंक धाउने झण्झट अन्त्य गराउन सेवा थालेको बताए ।
यसअघि दमौलीमा लाईन लागेर भत्ता लिनुपर्ने बाध्यता भएका वृद्धवृद्धालाई हाल वडा कार्यालयहरुले वडामै भत्ता वितरणको प्रबन्ध थालेका छन् । व्यास ३, ५ र १० वडाले यसअघि नै वडाबाटै भत्ता वितरण थालेका छन् । यसैगरी व्यास ११ ले समेत वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागेको छ । वडा अध्यक्ष निरबहादुर खड्काका अनुसार असोज २७ गते शुक्रबारबाट वडामै भत्ता वितरण थालिनेछ ।
तर, सहरी क्षेत्रबाट टाढा रहेका कतिपय वडाले भने चाहेर पनि वडामै वितरण गर्न नसकिएको गुनासो गरेका छन् । व्यास ६ का अध्यक्ष सूर्यभक्त भण्डारीले आफूहरुले आग्रह गरे पनि सेवा प्रदायक कैलाश विकास बैंकले टाढा भएको कारण देखाउँदै सुरक्षाका कारण वितरण गर्न असमर्थ रहेको बताएको उल्लेख गरे । तर पनि अशक्तलाई मात्र भए पनि वडामा वितरणको प्रबन्ध गरिने उनले बताए ।